आज माघे संक्रान्ति, यस्तो छ, परम्परा !
काठमाडौं : आज माघे संक्रान्ति, सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । यो दिन दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।
यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने विश्वास गरिन्छ । यो दिन विहान सबेरै उठी विशेषगरी दोभान वा त्रिवेणीमा स्नान, तर्पण गर्ने परम्परा छ ।
नवलपरासी, चितवन र तनहुँको संगमस्थलको त्रिवेणी देवघाटमा ठूलो मेला लाग्छ । रिडी क्षेत्रमा रहेको रूरू तीर्थस्थलमा समेत मेला लाग्छ । उपत्यकामा शंखमुल, आर्यघाट आदि क्षेत्रको साथै काभ्रेको पनौती सिन्धुपाल्चोकको दोलालघाट लगायतका क्षेत्रमा पनि मकर नुहाउनेका घुइँचो लाग्छ ।
नदी, तलाउ र पवित्र स्थलमा स्नान गरी पितृतर्पण, देवपूजन, हवनआदि नित्यकर्म सकी पुरोहितहरूबाट माघसंक्रान्ति महिमा सुन्ने परम्परा छ । यो दिन तिलको लडडु, घिउचाकु, तरूल, खिचडी सेल रोटी, फुलौरा आदि खाने चलन छ पदार्थ खाने गरिन्छ ।
यी खानेकुराले माघको जाडोमा उष्णता दिनुको साथै स्वास्थ्यलाई समेत फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् । माघे संक्रान्तिको आसपास सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ । ऋतुको हिसावले हेमन्त सकिएर शिशिरऋतु लाग्ने भएकोले यो पर्वको महत्त्व रहेको छ ।