Logo
३ माघ २०८१, बिहीबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहज छैनन् वाम गठबन्धनका लागि आगामी दिन : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनका लागि आगामी दिन सहज छैन। धेरै चुनौती छन्। त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ।’

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेण्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइभन्दा बढी जनमत वामगठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मेहनतको परिणाम भएको बताए ।

देशभक्त गणतान्त्रिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पष्ट पारे ।

उनले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको उल्लेख गर्दै लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।

संविधान कार्यान्वयन गर्ने र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको शुरुवात् भएको धारणा राखे । ‘संविधान निर्माण भए पनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ । राजनीतिक स्थायित्वको दिशामा मुलुक केन्द्रित भएको छ’, अध्यक्ष दाहालले भने ।

सुशासन, समृद्धि र स्थायित्व नै मुलुकको प्रमुख कार्यभार भएकाले त्यसलाई सम्बोधन गरेर जाने र नेपाललाई सक्षम र सबल मुलुकका रुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उनले बताए । कार्यक्रममा राजनीतिक शास्त्रका प्राध्यापक डा सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताए ।

उनले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कला, संस्कृति र पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई अध्यक्ष दाहालले सम्मान गरेका थिए । आयोजक संस्थाका अध्यक्ष बाबा बस्नेतले समाजमा राम्रा काम गर्नेको सम्मान गर्ने संस्कारको विकासका लागि आफ्नो संस्थाले गत वर्षदेखि सम्मान गर्ने प्रचलन शुरु गरेको जानकारी दिएका थिए । (रासस)

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्