Logo
३ आश्विन २०८१, बिहीबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षदेखि गंगामायाको अनशन तर कृष्णप्रसाद हत्याको मुद्धा पेसी सरेको सर्‍यै

चितवन : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धमा विचाराधीन मुद्दाको पेसी पुन: सरेको छ । बुधबार १२ औं पटक सरेको हो । पेसी तोकिएका दिन प्राय: मुद्दा हेरिरहेका न्यायाधीश जिल्लामा बस्दैनन् । कहिले अदालतको कामको सिलसिलामा त कहिले घरायसी बिदामा बस्ने गरेको अदालत स्रोतको दाबी छ । मुद्दा हेर्ने न्यायाधीश नहुँदा पेसी सरेको सर्‍यै छ । बुधबार पनि त्यसरी नै सरेको अदालतले जनायो । ‘१ नम्बर न्यायाधीश कुलप्रसाद शर्मा बिदामा हुनुहुन्छ,’ सूचना अधिकारी केशव पौडेलले भने, ‘पेसी सरेको यो सबैभन्दा पुरानो मुद्दा हो ।’ उनका अनुसार न्यायाधीश शर्मा शनिबारबाटै बिदामा छन् । माघ २ गतेसम्म बिदा बसेका हुन् । अदालत स्रोतका अनुसार अहिलेसम्म न्यायाधीशका कारण १० र प्रतिवादी कानुन व्यवसायीबाट १ पटक पेसी स्थगित भएको हो ।

‘यो मुद्दा ४ वर्ष पुग्न लाग्यो,’ उनले भने, ‘पुन: फागुन १३ गते आइतबारका लागि पेसी सरेको छ ।’ सूचना अधिकारी पौडेलले न्यायाधीश शर्मा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेकाले आयोगमा प्रतिवेदन बुझाउने गरी काठमाडौं गएको बताए । मुद्दा दर्ता भएयता ६ जना न्यायाधीशले हेरिसकेका छन् । न्यायाधीश विनोदमोहन आचार्य, वासुदेव पौडेल, कविप्रसाद न्यौपाने र टेकनारायण कुँवर सरुवा भइसकेका छन् । कोही बढुवा भएर त कोही समय पुगेर अन्यत्र सरुवा गइसकेका छन् । न्यौपानेको इजलासमा २ पटक मुद्दा पर्‍यो । सूचना अधिकारी पौडेलका अनुसार घटनाका १३ आरोपित छन् । जसमध्ये ११ जना रुजु तारेखमा छन् । प्रतिवादीमध्ये छविलाल पौडेल सर्वोच्च अदालतबाट थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने आदेश भएपछि फरार छन् । रुद्र आचार्य सुरु म्याद गुजारी फरार छन् ।

गोरखा फुजेल–७ का १८ वर्षीय कृष्णप्रसाद एसएलसी दिएर चितवनको जयमंगलामा रहेका बुबाआमालाई भेट्न आएका थिए । त्यही बेला ०६१ जेठ २४ गते बकुलरमा उनको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारबाही माग गर्दै कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अनशन बसेका थिए । अनशन बस्ने क्रममै नन्दप्रसादको मृत्यु भइसकेको छ । गंगामाया भने काठमाडौंकोवीर अस्पतालमा ६ वर्षदेखि अनशन बसिरहेकी छन् । अहिले शर्माको इजलासले मुद्दा हेरिरहेको छ । सूचना अधिकारी पौडेलले कहिले सार्वजनिक बिदा, कहिले कानुन व्यवसायीको व्यस्तता र कहिले न्यायाधीश नहुँदा पेसी सर्दै आएको दाबी गरे । यो मुद्दा २०७० चैत ३० गते जिल्ला अदालतमा दर्ता भएको थियो भन्दै कान्तिपुरमा खबर छ ।

 

 

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्