पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्नुपर्छ : थापा
काठमाडौं : उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले पृथ्वीनारायण शाहको योगदान र सम्मानको विषयलाई कुनै राजनितिक व्यवस्थासँग गाँसेर हेर्न नहुने बताएका छन् । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने घोषणा गर्दे सार्वजनिक विदा दिएको र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर सम्मान गरेकाले अब यो विषय विवादको विषय नरहेको समेत उनले उल्लेख गरे ।
राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित चियापान समारोहमा उपस्थित अतिथिलाई स्वागत गर्दै उपप्रधानमन्त्री थापाले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै पनि राजनीतिक आस्थासँग गाँसेर नहेर्न सबै पक्षसँग आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा,उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी,संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायत सहभागी रहेका थिए ।