डा. केसिको पक्राउपछि प्रधानमन्त्रीको आपत्ति, यस्तो छ घटनाक्रम
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए । ‘मैले केसी पक्राउ परेको समाचार हेरेर थाहा पाएँ ।
उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।
तीव्र रूपमा विकसित घटनाक्रम
आइतबार अपराह्न : चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा चार वर्षअघि २५ पुस ०७० मा प्रा.डा. शशि शर्मा नियुक्त हुनासाथ डा. गोविन्द केसी आन्दोलनमा उत्रिएका थिए । २८ पुसदेखि पदमा बहाल भएका डा. शर्मालाई सरकारले ८ माघमा हटाएको थियो । दबाबमा र गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै सर्वोच्च गएका डा. शर्माको मुद्दामा चार वर्षपछि आइतबार मात्र अदालतले फैसला दिएको थियो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले पुनर्बहाल गर्ने आदेश दिएपछि डा. शर्माले आइतबार साँझ नै पदबहाल गरेका थिए ।
सोमबार २ बजे : सर्वोच्चको फैसलाविरुद्ध अनशन बस्ने जानकारी दिन डा. गोविन्द केसीले शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरे । पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गरेको भन्दै उनले प्रधानन्यायाधीशको राजीनामा माग गरे । प्रधानन्यायाधीशका भ्रष्ट क्रियाकलापमाथि छानबिन र कारबाही गर्नुपर्ने माग राख्दै उनले अनशनसमेत सुरु गरे ।
सोमबार ४ बजे : डा. केसीको पत्रकार सम्मेलनलगत्तै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले टिप्पणी उठाएर दायर गरेको अवहेलना मुद्दामा न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई पक्राउ गरेर मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सरकार, गृह मन्त्रालय र प्रहरीका नाममा आदेश दियो भन्दै नयाँ पत्रिकामा खबर छ ।
सोमबार साँझ ८ बजे : सर्वोच्चको आदेशअनुसार पक्राउ पुर्जी लिएर शिक्षण अस्पताल पुगेको प्रहरीले सोमबार साँझ नै डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकले बताए । पक्राउ पर्दा पनि केसीले भने, ‘हिरासतमै मेरो अनशन जारी रहन्छ । अदालत या जेल जहाँ राखे पनि म त्यहीँ अनशन बस्नेछु ।’ उनलाई मंगलबार बिहान सर्वोच्चमा हाजिर गराइनेछ ।