Logo
९ मंसिर २०८१, आईतबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठ व्यवसायी बसन्त पौडेलको हत्या प्रकरणमा मोस्ट वान्टेड मनोज कनेक्सन

भैरहवा : नेपाल प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेको फरार अभियुक्त रुपन्देही देवदह नपा ६ का २९ वर्षीय मनोज पुन उर्फ पनोज बुढा मगरको नाम फेरि चर्चामा आएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको मुख्य अभियुक्त रहेका मनोज पुनले पुन देवदह गोली काण्डको घटनाको जिम्मा लिएपछि उनको नाम फेरी चर्चामा आएको हो ।

रुपन्देहीमा गोली प्रहार गरेर एक जना व्यवसायीको हत्या भएको छ । जिल्लाको देवदह नगरपालिका २ स्थित ४० वर्षीय बलु उर्फ बसन्त पौडेल आफ्नो पसलमा आगो तापेर बसिरहेको अवस्थामा अज्ञात समुहले गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता डिल्ली नारयण पाण्डेले जानकारी दिए । मृतक पौडेल फर्निचर व्यवसायी हुन् । मोटरसाइलकमा आएका दुई जना अपरिचित व्यक्तिले पौडेललाई गोली हानि फरार भएका छन् ।मृतकको टाउको र छातीमा गोली लागेको थियो ।

यता ,आफुलाई मनोज पुन बताउने एक व्यक्तिले संचारकर्मीहरुलाई टेलिफोन गरेर घटना आफुले गराएको दावी गरेका छन् । मनोज पुन बताउने ती व्यक्तिको भनाई अनुसार मृतक पौडेले प्रहरीसगँ मिलेमतो गरी आफ्नो सहयोगी र साथीभाईहरुलाई अनावश्यक रुपमा फसाएको कारण आफुले गोली प्रहार गर्न लगाएको हो । किन र कसले गोली हानेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ । साँझ ५ बजेसम्म घटनामा प्रहरीले कुनै सफलता प्राप्त गर्न सकेको छैन ।

मृतक पौडेल एमालेका कार्यकर्ता
घटनाको विरोधमा युवा संघ नेपाल रुपन्देहीले शुक्रवार केही घण्टा बुटवल बजार बन्द गराएको थियो भने शनिवार देखि रुपन्देही जिल्ला अनिश्चतकालिन बन्दको आह्वान गरेको छ । पुनले पटक-पटक अपराधिक घटना घटाउँदै आएको प्रहरी अनुसन्धानले देखाएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । व्यवसायी शरद गौचनको हत्यामा पनि उनको संग्लनता देखिएपनि पक्राउ परेका समिरमान सिंह बस्नेतले घटनामा पुनको संग्लनता नरहेको भन्दै पुनको बचाउ गर्दै आएका छन् ।

पुन भारतमा बस्दै आएको प्रहरी अनुसन्धान देखिताएपनि तिवारी हत्या पश्चात भारतमा पक्राउ गर्न गएको सिआइबी टोली रित्तो हात फर्किएको थियो । भारतको गोवा लगायत क्षेत्रमा एक महिना बसेको सिआइबीले मोबाइलको लोकेशनले पुनलाई पछ्याउँदै जादा पुनसगँ मध्यप्रदेशबाट सम्पर्क विच्छेद भएपछि सिआइबी टोली फर्किएको थियो । पुनको खोजीमा रहेको सिआइबी र प्रहरी मुख्यालयले गठन गरेको डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन टोलीबिच मतभेद उत्पन्न हुदाँ समेत पुन पक्राउ पर्न नसकेको एक प्रहरी अधिकारीले बताए ।

पुनलाई पक्राउ गर्न नसक्दा उनले टोलिफोनको भरमा उद्योगी, व्यवसायीहरुसगँ मोटो रकम असुल गरेर भारतको गुजरात, मुम्बई, चण्डीगढ, गोवा लगायतका शहरहरुमा बसी युवाहरु परिचालन गर्दै घटना गराउँदै आएको आन्तिरक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ । दुर्गा तिवारीको हत्या अघि नै पुन उपर संगठित अपराध हातहतियार खरखजाना र ज्यान मार्ने उद्योगमा रुपन्देहीमा मुद्दा दायर रहेको छ ।

कसरी उदाए पुन ?
आरोपी पुन विगतमा एमालेकै कार्यकर्ता थिए । उनी ५/६ वर्ष अघि सानोतिनो गुण्डागर्दी र ठेक्कापट्टा गर्दथे । र, त्यसबेला गुण्डागर्दी (झैभगडा) गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उक्त घटनाको विषयमा इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन एक प्रहरी अधिकृतले घटनालाई सम्झिदै भन्छन्– म इप्रका बुटवलमा कार्यरत रहँदा गुण्डागर्दी (झैझगडा) को आरोपमा पुनलाई पक्राउ गरेका थिए तर पुन एमालेको कार्यकर्ता रहेको कारण त्यसबेला एमालेका स्थानिय नेताहरुले पिडितलाई दबाद दिएर घटनाको जाहेरी प्रहरी कार्यालयमा दर्ता नगराउने ‘वातवरण’ बनाइदिएपछि पुनलाई ४ दिनपछि थुनामुक्त गरिएको थियो ।

उनी एमालेको कार्यकर्ता रहँदा चन्दा असुली गर्दथे । र, पार्टीमा रहेर चन्द असुली गर्नु गलत रहेको भन्दै दुर्गा तिवारीले पुनको कार्यप्रति विरोध गर्दै आएका थिए । पुन चन्दा असुलीमा लिप्त भएको पार्टीले जानकारी पाएपछि पार्टी उनलाई कारवाही स्वरुप पार्टीबाट निष्काशित गरिएको थियो । पार्टीले उनलाई कारवाही स्वरुप पार्टीबाट निष्काशित गरेपछि पुनले तिवारीका कारण आफुलाई पार्टीले कारवाही गरेको भन्दै तिवारी प्रति रिसिवी राख्न थालेको बताइन्छ । र केही समय पछि पुन बैकंङ्ग गए तर उनको रिसिवी शान्त भएको थिएन ।

त्यसपछि उनी बैकंङ्गबाट आएर भारतको गोवा शहरमा बसेर शालिकराम चापागाई भन्ने व्यक्ति मार्फत गत ०७२ फागुन महिनामा तिवारी माथि गोली प्रहार गर्न लगाएका थिए । उक्त समयमा तिवारीको हत्या गर्न मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बन्दुक निकालेर गोली प्रहार गर्न खोज्दा गोली प्रहार नभएपछि उनीहरु घटनास्थलबाट फरार भएका थिए । त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा घटनामा संग्लन शालिकराम चापागाई सहित ८ जना आरोपीलाई पक्राउ गरेका थियो । त्यसपश्चात अर्को घटनामा दुर्गा तिवारीको हत्या भएपश्चात प्रहरीले अन्य आरोपीहरुलाई पक्राउ गरेपनि मुख्य अभियुक्त मनोज पुनलाई हाल सम्म पक्राउ गर्न सेकेको छैन ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्