म पार्टी नेतृत्व लिन योग्य छु, हस्ताक्षर अभियान थाल्छु : कोइराला
मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा आफूले पार्टी नेतृत्वको लागि दाबी गर्ने बताएका छन् । प्रेस यूनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले सो दाबी गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले चाँडै केन्द्रिय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान थाल्ने पनि बताए ।
उनले कांग्रेस युवाको जोश र पाकाको होशले बनेको पार्टी भएको कुरो युवाहरुले बुझ्नु आवश्यक रहेको तर्क अघि सार्दै पार्टीको नेतृत्व लिन युवाहरुले हतारो गर्न नहुने बताए । ‘म राजनीतिक रुपमा परिपक्व भइसकेको छु । अबको पार्टी महाधिवेशनमा नेतृत्व लिन सक्षम छु,’ उनले भने ।
‘महासमितिबाट पार्टी विधान संशोधन पारित भएपछि पार्टीको महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।’ उनी आफू विशेष महाधिवेशनबाट पार्टी सभापति परिवर्तन गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । यस्तै निर्वाचनमा आफू माथि भएको अन्तर्घातको विषयमा पार्टीको अनुशासन समितिले गम्भिरता पूर्वक छानबिन गरेर विधिवत ढंगले अन्र्तघातीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो ।
कोइरालाले वाम गठबन्धनले सरकार बनाउनुपर्ने र कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताए । निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षमा बसेर संगठन मजबुत बनाउने जनादेश दिएको बताउँदै उनले भने, ‘एउटै घोषणापत्रमा निर्वाचन लडेका एमाले र माओवादी केन्द्रले सरकार बनाउनुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, ‘कांग्रेसले माओवादीसँग मिलेर सरकार बनाउनु हुँदैन र वाम गठबन्धन पनि तोड्ने खेलमा लाग्न मिल्दैन । त्यसले जनमतको अपमान हुन्छ ।’