Logo
९ मंसिर २०८१, आईतबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्धा फाँटमा दलाल हाबी : सुनसरी प्रहरीमा यसरी हुदैछ सेटिङ

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीको मुद्धा फाँट घुसखोरी प्रहरी कर्मचारीको कमाई खाने अखडा बन्दै गएको पाईएको छ । समान्य घटनामा समेत जिप्रका सुनसरी मुद्धा फाँटका ईञ्चार्ज प्रहरी निरिक्षक थान्दारले दलालहरु परिचालन गरी रकमको लेनदेन गर्ने गरेको पाईएको छ । प्रहरी निरिक्षक थान्दार र उनले पालेका केही दलालहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आएको एक अंगभंग र कुटपिटको घटना मिलापत्र गरी प्रहरी निरिक्षक थान्दारले अनियमित रकम लिएको रहस्य सार्वजानिक भएको छ ।

जिल्लाको बिभिन्न क्षेत्रबाट न्यायका लागि आउने सेवाग्राही पीडित वा पीडक पक्षसँग जिल्ला प्रहरी कार्यालय सुनसरीका मुद्धा फाँटका प्रहरी निरिक्षक शेषकराम थान्दारले दलालहरु मार्फत अनियमित रकम लिने गरेको रहस्य सार्वजानिक भएको छ । सुनसरीको कोशी गाउँपालिका शिव चौकमा शनिवार राती भारतका राजु सिंह र सर्लाही जिल्लाका शम्भु सिंह पक्ष बिच भनाभनको क्रममा कुटपिट घटना घट्यो । भारतका राजु सिंह भारतिय निर्माण व्यवसायी (ठेकेदार) हुन भने नेपालको सर्लाही जिल्ला बस्ने शम्भु सिंह नेपालबाट भारततर्फ गाई गोरु तस्करी गर्ने तस्करहरुको नामुद नाईने हुन् । यी दुई समुह बिच भएको कुटपिटमा भारतीय ठेकेदार राजु सिंहको टाउको समेत फुट्यो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सो कुटपिट घटनामा संग्लन रहेको भन्दै सर्लाहीका शम्भु सिंह सहित आधा दर्जन बढीलाई नियन्त्रणमा लिएका थिए । प्रहरी निरिक्षक शेषकराम थान्दारले मुद्धा दर्ता गर्नुपर्ने यो घटनामा आसेपासे दलालहरु परिचालन गरी शम्भु सिंह लगायत पक्राउ परेका मानिसलाई छोडनका लागि मोटो रकम लिएको समाचार स्रोतको दावी छ । शम्भु सिंहका एजेण्ट मार्फत कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक थान्दारलाई मोटो रकम दिएपछि सिंह सहित कुटपिट घटनामा पक्राउ परेका सबै जनालाई सुनसरी प्रहरीका प्रमुख एसपी बिद्ययान्द माझीले छाड्न निर्देशन दिएको समाचार स्रोतको आरोप छ ।

कोशी गाउँपालिका वार्ड न. ३ का वडा अध्यक्ष सुलेमान मंसुरी प्रहरी कार्यालय गेट अगाडी बस्ने (बिचौलिया) दलालको रुपमा ख्याती प्राप्त बदनाम नाम हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका सिंह सहितलाई आईतबार राती ८ बजे छाडेका हुन् । जब भयो राती अनि बुढी ताती भन्ने नेपाली उखान जस्तै दिनभरी तै चुप मै चुप शैंलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेकालाई राती आर्थिक लेनदेन गरी छाडनुले लेनदेनमा घटनामा मिलापत्र भएको स्पष्ट हुन्छ । यस बिषयमा प्रहरी निरिक्षक थान्दारले आफूले कुनै पनि लेनदेन गरी घटना नमिलाएको प्रतिक्रिया दिए । कुटपिटको बारेमा आफुले मोटो रकम नलिएको भन्दै कसैले आफूले रकम लिएको प्रमाण जुटाउन समेत नसक्ने दावी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी पछिल्लो समय दलालहरुको अखडा बन्दै गएको भन्दा फरक नपर्ला । जहाँ प्रहरीको बर्दीमा दलाल पाल्ने शेषकराम थान्दार जस्ता प्रहरी निरिक्षक जिल्ला प्रहरी कार्यालय चलाउछन त्यहाँ यस्तै हबिगत हुन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरी मुद्धा फाँटका प्रहरी निरिक्षक शेषकराम थान्दार, महिला सेलकी प्रमुख बिनु बस्नेत लगायतका प्रहरी कर्मचारीहरुको पालेको दलाल (बिचौलिया) हरु बिहानै देखि बेलुकासम्म प्रहरी कार्यालय वरपर यत्रतत्र देखिन छन् । नेपाल प्रहरीको सत्यम सेवम् सुरक्षाणमसँगै प्रहरी मेरो साथीको परिकल्पना विपरित जिल्ला प्रहरी कार्यालय सुनसरीमा दलाल तन्त्र हावी हुँदा सर्वसाधरण भने यसबाट पूर्ण रुपमा थप पीडित बन्दै आएका छन् ।

सुनसरी प्रहरीका जिम्मेवार पदाधिकारीहरुले रकमको लेनदेनबाटै झण्डै दुई दर्जन घटनाको गैरकानुनी फछर््यौट गरेको तथ्याँक छ । वितेको एक वर्षको अवधिमा पैसाकै आधारमा कतिपय दुर्घटना, तस्करीसँगै लागु औषध सम्बन्धि मुद्धाहरु नियोजित रुपमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक थान्दारले अदालत समक्ष प्रस्तुत गरेको तथ्य समेत फेला पारेको छ । बिभिन्न राजनितिक दलको जिल्ला तथा गाउँ स्तरीय नेताहरुसँगै केही निर्वाचित जनप्रतिनिधीहरु, बिभिन्न अधिकारवादी संगठनसँग आवद्धता रहेको बताउनेहरुको गिरोह हाल प्रहरीसँग मुद्धा मामिलामा दलाली गर्न र पीडित र पीडक दुबैसँग आर्थिक चलखेल गरी प्रहरीको पेट पाल्न सक्रिय रहेको श्रोत बताउछ ।

बिभिन्न घटनामा परी पीडित हुने पीडितहरु सुनसरी प्रहरीसम्म आई पुग्दा दलालको सहयोग बिना काम नहुने वातावरण देखेपछि बाध्य भई बिभिन्न रुपी दलालहरुको सहयोगमा ठुलो रकम खर्च गरी सुनसरी प्रहरी माझ आफ्नो पँहुच बनाउन बाध्य छन् । नेपाल प्रहरीको सेवा पूर्ण निःशुल्क सेवा हो, तर जिल्ला प्रहरी कार्यालय सुनसरीमा न्यायका लागि आउनले जनताहरुको अधिकाँश मुद्धामा प्रहरी कर्मचारीकै मिलोमतो दलालहरुले खुलेआम रुपमा रकम असुल गरी रहँदा समेत माथिल्लो निकाय मुकदर्शक बनेर हेर्नु बाहेक केही गर्न नसक्नु पछाडि तलदेखि माथि सम्मको मिलोमतो प्रष्ट देखिन्छ, प्रतिक्षण दैनिकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका केही भ्रष्टहरुका कारण सम्रग सुनसरी प्रहरी बदनाम हुने अवस्था सृजना भएको सर्वसाधारणहरुको भनाई रहेको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक एवम प्रवक्ता डिएसपी नारायण प्रसाद चिमौरीयाले कुटपिट घटनाबारे आफूलाई जानकारी नभएको भन्दै वास्तविकता बारे आफूले बुझि रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्