Logo
२० कार्तिक २०८१, मंगलबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्ति बाँडफाँटका खाका निर्धारण भए मात्र एकिकरण : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू एकीकरणका लागि प्रतिवद्ध रहे पनि सरकार नेतृत्व र वाम गठबन्धनभित्र शक्ति बाँडफाँटका खाका निर्धारण गर्न बाँकी रहेकाले त्यसबारे ज्यादा बहस विवादमा नलाग्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् । मंगलबार खुमलटारस्थित आफ्नै निवासमा आयोजित पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सामेल नेताहरुलाई प्रचण्डले पार्टी एकीकरण जसरी पनि हुने तर त्यो समुचित ढंगबाट हुनेबारे आश्वस्त पारेका थिए । त्योसँगै उनले सरकार नेतृत्व आलोपालो हुने र सत्ता बाँडफाँटका सर्तहरुलाई अन्तिम रुप दिन अझै बाँकी रहेको खुलासा गरे ।

बैठकमा हालै सम्पन्न चुनावमा अपेक्षित सफलता हासिल नगरेको र त्यसका लागि अन्तरघात निकै हदसम्म जिम्मेवार रहेको केही नेताहरुले उठाएका थिए। त्यसबारे छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा लीलामणि पोखरेल, हितराज पाण्डे, गणेश शाह र रेखा शर्मा सदस्य रहेको कार्यदल गठन गरिएको छ । बैठकमा सहभागी नेता गिरिराजमणि पोखरेलले एकता संयोजन समितिको बैठक आव्हान गर्नुपर्ने धारणा पनि अध्यक्ष दाहालले राखेको जानकारी दिए । ‘अध्यक्ष दाहालले पार्टी एकतामा कुनै शंका नरहेको र त्यसलाई व्यवस्थित तरिकाले अघि बढाउन नै संयोजन समितिको बैठकको आवश्यकता अध्यक्षले औँल्याउनु भएको हो’, उनले भने ।

पोखरेलले बैठकमा असोज १७ गतेको समझदारी र वाम गठबन्धनले जारी गरेको संयुक्त चुनावी घोषणापत्रलाई आधार मान्दै अन्य जटिलताको गाँठो फुकाउने विषयमा छलफल भएको बताए । यस्तै पार्टी एकिकरण लगायतका विषयको टुंगो लगाउन संगठनात्मक कार्यदल गठन भएको छ । यसको नेतृत्व रामबहादुर थापा बादलले पाएका छन् । अन्य सदस्यमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृकाप्रसाद यादव र लेखराज भट्ट छन् ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्