समानुपातिक मार्फत प्रदेशसभामा ७२ सांसद छान्न कांग्रेसलाई सकस
काठमाडौं : प्रदेशसभाका ७२ सांसदको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउन कांग्रेसलाई सकस परेको छ ।यसअघि बुझाइसकिएको बन्द सूचीमध्ये ७ प्रदेशबाट ७२ जनाको अन्तिम सूची बनाउन कांग्रेसलाई सकस भएको हो ।
नेताहरूबीच नै कुरा नमिल्दा आयोगमा अन्तिम नाम बुझाउन समस्या भइरहेको एक नेताले जानकारी दिए । सूची टुंगो लगाएर आयोगमा नाम बुझाउन शुक्रबार दिनभर केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न सकेन । आफूले प्रतिनिधित्व गर्ने प्रदेशबाट यसअघि सिफारिस गरिएका केही नाम काटिएको, आफूनिकटका नेता नपरेको भन्दै नेताहरू असन्तुष्ट बनेका हुन् ।
यसअघि बुझाइएको बन्दसूचीको क्रमअनुसार नै समावेशी कोटाअनुसार आयोगमा नाम बुझाउनुपर्ने भए पनि कम प्रतिनिधित्व भएका क्लष्टरका केही नाममा संस्थापन पक्षले आफ्नो पक्षका नाम पार्न खोजेपछि समस्या आएको एक नेताले जानकारी दिए ।
बन्दसूचीमा पनि सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै समिति सदस्य अर्जुननरसिंह केसीसहितका नेता असन्तुष्ट बनेका छन् । प्रदेश नम्बर ३ बाट सांसद टुंग्याउने नाममा आफूहरूसँग पर्याप्त छलफल नगरेको भन्दै केसीसहितका नेता असन्तुष्ट बनेका हुन् ।