Logo
२० कार्तिक २०८१, मंगलबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि ओलीले ब्यक्त गरे असन्तुष्टि

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रपतिबाट शुक्रबार जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरिरहेको टिप्पणी गर्दै आफूहरुले अध्यादेशलाई थप मुद्दा भने नबनाउने स्पष्ट गरे । नेता ओलीले भने, ‘हामी गठबन्धनको बहुमतको सरकार बनाउँछौँ, देशमा सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रण, सामाजिक सद्भाव कायमका साथ राष्ट्रिय एकता, शान्ति र स्थायित्व ल्याई लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्नेछौँ ।’

नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको शुक्रबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दबाबबाट आएको अध्यादेश आफैं असंवैधानिक छ, राष्ट्रपतिको कदम भने असंवैधानिक होइन ।’ फरक प्रसंगमा अध्यक्ष ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले ‘मेकअप’ (कमी पूरा गर्ने) गर्ने धारणा राखे । एमाले नेता ओलीले अब बन्ने नयाँ सरकारले दुवै छिमेकी मुलुक (भारत र चीन) सँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढाउने बताए ।

एमालेका सचिव प्रदीप ज्ञवालीले राजनीतिक कार्यसूची पूरा भइसकेकाले अब चाँडो आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संविधान निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले मुलुकको समृद्धिको चाहनालाई साकार पार्न अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्