माघबाट नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गर्दै
काठमाडौं : २०६० सम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनी विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न नसकेपछि ६ वर्षअघि बन्द भएको नेपाल औषधि लिमिटेडले १ महीनाभित्र ट्याब्लेट औषधि बजारमा ल्याउने तयारी गरेको छ । गत वर्षदेखि पुनः सञ्चालनमा आएको नेपाल औषधि लिमिटेडले माघ महीनाभित्र ट्याब्लेट औषधि बजारमा ल्याउने तयारी गरेको छ । सिटामोललगायतका ट्याब्लेट औषधि उत्पादन गर्न कम्पनीले भारतबाट कम्प्रेशन मेशिन ल्याउन लागेको छ ।
सरकारले निजीक्षेत्रले उत्पादन गर्ने औषधिको मूल्य अस्वाभाविक भएको बढ्दो गुनासो सम्बोधन गर्दै निःशुल्क बाँड्ने औषधिमा आत्मनिर्भर बन्नका लागि कम्पनीलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुरूप सञ्चालनमा आएको कम्पनीबाट सिटामोल, अल्बाजोल, आइरन चक्की, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिससमेत उत्पादन गर्ने सरकारी लक्ष्य थियो । त्यसबाहेक पनि हरेक महीना एक नयाँ उत्पादन थप्दै लैजाने बताइएको थियो । तर, सञ्चालनमा आएको वर्षदिनसम्म पनि जीवनजलबाहेक कुनै औषधि उत्पादन गर्न नसकेको भन्दै कम्पनीको आलोचना भइरहेको थियो ।
सोही आलोचना सम्बोधन गर्न मङ्गलवार भएको पत्रकार सम्मेलनमा कम्पनीका महाप्रबन्धक डा. रोभशकुसम सुवेदीले बजेट अभावले ट्यावलेट औषधि उत्पादन गर्न नसकेको बताए । हाल आन्तरिक तयारी सकिएको बताउँदै उनले भने, ‘बजेट अभाव, भारतमा लागू भएको वस्तु तथा सेवाकरको द्विविधा र अस्थिर आन्तरिक राजनीतिले गर्दा भनेजति काम गर्न सकिएन । मेशिन आयो भने १ महीनाभित्रै सिटामोल बजारमा आउँछ ।’
मेशिनको सहयोगमा ४/५ दिनको फरकमा ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्न सकिने जानकारहरू बताउँछन् । अघिल्लो सरकारले वैशाखमा उक्त कम्पनी पुनः सञ्चालन गर्दा ३ महीनाभित्रै सिटामोलसहित ८ किसिमका औषधि उत्पादन थाल्ने बताएको थियो । जीवनजल बनाउन थालेको ६ महीनाभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले अरू औषधि उत्पादन गर्न सकेको छैन ।
औषधि उद्योग पुनः सञ्चालनका लागि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण सहयोग दिने भने पनि हालसम्म अर्थ मन्त्रालयले ६ करोड ४८ लाख रुपैयाँ मात्र निकासा दिएको सुवेदीले जानकारी दिए ।