वित्तीय संस्थाले विदेशी अवार्ड आफूखुशी लिन नपाइने, विदेश भ्रमणमा पनि कडाइ
काठमाडौं : अब बैङ्क तथा वित्तीय संस्थाले अन्तरराष्ट्रिय स्तरको अवार्ड र सम्मान ग्रहण गर्न नेपाल राष्ट्र बैङ्कबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्थाले अवार्ड दिने विदेशी संस्थाको वैधानिकता खुल्ने आधिकारिक कागजात पेश गरेपछि राष्ट्र बैङ्कले अध्ययन गरेर अवार्ड लिन पाउने वा नपाउने विषयमा निर्णय गर्नेछ । अवार्ड र सम्मानको नाममा बैङ्क तथा वित्तीय संस्थाले अनावश्यक खर्च गरेको गुनासो आएपछि केन्द्रीय बैङ्कले मङ्गलवार अवार्ड र सम्मान व्यवस्थित गर्न परिपत्र जारी गरेको हो ।
राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बैङ्किङ क्षेत्रमा विदेशबाट पुरस्कार लिने नाममा केही विकृति देखिएकाले यस्तो नीतिगत व्यवस्था गरेको बताए । उनका अनुसार पुरस्कार वा सम्मान ग्रहणको नाममा बैङ्कका पदाधिकारीको भ्रमणलगायतमा अनावश्यक खर्च गर्नु निक्षेपकर्ताको हितविपरीत हो ।
अवार्डको नाममा चर्चामा आउन पैसा दिएर खरीद गर्ने प्रवृत्ति बैङ्किङ क्षेत्रमा नहोस् भनेर राष्ट्र बैङ्कले यस्तो नीतिगत व्यवस्था गरेको उनको भनाइ छ । ‘इजाजतप्राप्त संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क र वित्तीय योगदान गरेको आधारमा मात्र सोको प्रतिफल स्वरूप विदेशी निकायबाट पुरस्कार वा सम्मान लिन पाउने छैनन्,’ परिपत्रमा भनिएको छ ।
यससँगै बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणको खर्चलाई समेत व्यवस्थित गर्न कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने भएको छ ।
हालसम्म जेजसरी भ्रमण गर्दै आए पनि अब बैङ्कको खर्च अनावश्यक नहोस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले यस्तो नीति लिएको बताइएको छ । यस्तो कार्यविधि बनाउन राष्ट्र बैङ्कले यही चैत मसान्तसम्मको समयसीमा तोकेको छ । उच्च अधिकारीको भ्रमणको उद्देश्य तथा उपयोगितालगायत समेटेर सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने व्यवस्था गरिएको छ । यसका साथै उक्त कार्यविधिमा भ्रमण गर्न जाने व्यक्तिको नामावली, देश, समयावधि, भ्रमणको विषय, यसका लागि लाग्ने खर्च र सम्बन्धित संस्थालाई त्यसबाट हुने फाइदाबारे खुलाएर समेटिनु पर्नेछ ।