स्वतन्त्र मधेश समूह एमाले भित्रै रहेर मधेशका लागि क्रियाशील रहने
कपिलबस्तु : सूर्य चिन्ह लिएर कपिलबस्तु–२ बाट निर्वाचित सांसद वृजेशकुमार गुप्ताले स्वतन्त्र मधेश समूह नेकपा (एमाले) भित्रे रहेर मधेश र मधेशीको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताएका छन् । स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गुप्ताले तराई मधेशका दलित, जनजाति, आदिवासी, मुसलमानलगायत पछाछि परेका वर्ग समुदायको अधिकारका लागि एमाले नै उपयुक्त पार्टी भएको दावी गर्दै त्यही कारण आफूहरूको रोजाइ पनि एमाले नै रहेको बताए।
हृदयेश त्रिपाठी र गुप्ता लगायत राजपाका नेताहरु पार्टी परित्याग गरी स्वतन्त्र समूह घोषणा गरेर एमालेको सूर्य चिन्ह लिई गत निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। एमालेभित्रै रहेर मधेश र मधेशीका सम्बन्धमा कृयाशील रहने सम्बन्धमा एमाले नेतृत्वसँग निर्वाचनअघि नै सहमति भएको र अब त्यसको कार्यान्वयनको पक्ष बाँकी छ’ गुप्ताले भने, ‘हामी टेबलमा बसेर मधेश समस्या समाधानको प्रयास गर्नेछौं।’
वर्तमान संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेका कारण तराई मधेश र पिछडिएको वर्ग समुदायका पक्षमा उठाएका विषयको सम्बोधन हुनेमा आफूहरु आशावादी रहेको पनि उनले बताए ।