Logo
२० कार्तिक २०८१, मंगलबार
(December 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री/राष्ट्रपतिद्धारा क्रिसमसको शुभकामना

यशुको त्याग र बलिदानी प्रेरणाको स्रोत : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ईसाइ धर्मावलम्वीको महान् पर्व क्रिसमस २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली क्रिस्चियनहरूमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

“यहाँ सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको छ, येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन् । उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ”– विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताए ।

राष्ट्रपति/उपराष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डरीले क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । शुभकामना सन्देश जारी गरी राष्ट्रपतिले नेपालमा मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रुपमा रहेका बतएकी छन् । उनले यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताइन् ।

नेपालीबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् ।

आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुनेछ भन्ने विश्वास लिँदै इसाई धर्मावम्बीको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना उनले गरेकी छन् ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। धर्मनिरपेक्ष राष्ट्र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको जनाएका छन् ।

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्