Logo
३ आश्विन २०८१, बिहीबार
(December 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलोपालो गर्ने ओली-दाहालबीच सम्झौता भएको छैनः श्रेष्ठ

गोरखा : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता नभएको बताएका छन् ।  निर्वाचन परिणाम आएपछि पहिलो पटक गोरखा आएका श्रेष्ठले  अहिले निर्वाचनमा वामगठबन्धनलाई प्राप्त जनादेशभित्र वामआदेश पनि रहेको तर्क गर्दै यसलाई पार्टी एकताको वाम आदेशका रुपमा पनि लिनुपर्ने उनले बताए ।

‘आलोपालो नेतृत्व भन्नुको मतलव सधैं एकल नेतृत्व हुँदैन आलोपालो जानुपर्छ भनेर असाध्यै सौद्धान्तिक र नीतिगत कुराकानी भएको हो’, श्रेष्ठले सोमबार गोरखामा भने, ‘त्यसलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको भन्ने अर्थमा बुझ्न हुँदैन ।’ ‘त्यसैले पार्टी एकताको घोषणा छिटोभन्दा छिटो गर्ने र एकीकृत पार्टी बन्ने प्रतिवद्धता हाम्रो छ’ श्रेष्ठले भने, ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकता हुन्छ । किनभने, एकीकृत पार्टीले सरकार संचालन गर्नु सबैभन्दा राम्रो हुन्छ । तर सरकार गठनको संवैधानिक र कानूनी प्रक्रिया पूरा भैसक्दा पनि पार्टी एकताको घोषणाको बिन्दूसम्म पुगिएन भने सरकार गठन गर्न रोक्नु हुँदैन ।’

निर्वाचन गोरखा २ बाट नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठले ‘यसपटक गोरखा २ का जनताको चयनमा आफू नपरेको’ स्वीकार गरे । चुनाव हारेपनि ‘समृद्ध गोरखा र खुसी गोरखाली’ अभियान जारी रहने प्रतिवद्धता जनाउँदै श्रेष्ठले थपे, ‘निर्वाचनबाट वामपन्थी गठबन्धनको सानदार सफलता भएको छ। देशभक्त, प्रगतिशील, विकासप्रेमी जनतालाई उत्साहित बनाएको छ भने देशलाई सामाजिक आर्थिक रुपान्तरणतर्फ लैजाने संभावना देखिएका छन् ।’

गोरखा २ मा वामपन्थी गठबन्धनलाई मतदान गर्ने सबै मतदातालाई श्रेष्ठले धन्यबाद दिए । गोरखामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनको परिणाम जे जस्तोसुकै भएपनि त्यो एउटा सामान्य, स्वभाविक घटनाको रुपमा लिन्छौं । गोरखा १ सहित सिंगो देशमा वामपन्थी गठबन्धनको विजय हाम्रा लागि धेरै खुसीको विषय हो ।’

कुनैपनि ढंगले जनताको जनादेशलाई अपमानित गर्ने, उपेक्षा गर्ने, सरकार गठन गर्ने प्रक्रियालाई अबरुद्ध गर्न नहुनेमा सचेत गराउँदै श्रेष्ठले वामपन्थीलाई देशभरबाट प्राप्त जनादेश, जनमत भनेको पार्टी एकता गर्नुपर्छ भन्ने रहेको प्रष्टाए । कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश प्राप्त भएको भन्दै श्रेष्ठले भने, ‘लोकतन्त्रलाई सुदृढ बनाउन जनादेशलाई मानेर अब सरकार गठन प्रक्रियालाई सहज ढंगले अघि बढाउनेछन् भन्ने हाम्रो विश्वास छ ।’

वामपन्थी गठबन्धनलाई करिब दुई तिहाइ जनमत प्राप्त भएको उल्लेख गर्दै श्रेष्ठले पाँच वर्ष स्थिर सरकार संचालन गरी संवृद्धिमा ठूलो फड्को मार्ने बताए। राष्ट्रिय सभाबारे एकल संक्रमणीय कि बहुमतीय भन्नेमा माओवादी नलागेको भन्दै श्रेष्ठले जुन प्रणालीमा गएपनि छिटो राजनीतिक गतिरोध अन्त्य होस् भन्ने पक्षमा रहेको बताए । गोरखा २ मा पराजित हुनुको कारण खुलाउँदै श्रेष्ठले भने– ‘गोरखा २ मा निर्वाचनको परिणामका विषयमा पार्टीभित्र र वामगठबन्धनमा बस्तुनिष्ट समीक्षाको प्रक्रियाबाट बुझिराखेका छौं । हामी समीक्षा गर्नेछौं ।

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्