Logo
२० कार्तिक २०८१, मंगलबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शनमा विप्लवको घुसपैठ भएको भन्दै कालिकोटमा फेरि कर्फ्यु

कालिकोट :  म्यादी प्रहरी हत्याको विरोधमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले कालिकोटमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहान दुई घण्टा हटाइएको कर्फ्यु पुनः लगाइएको छ । प्रहरीको गोली लागेर शुक्रबार एक म्यादी प्रहरीको ज्यान गएपछि स्थानीय र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका छन् । अवस्था नियन्त्रण बाहिर गएको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट कर्फ्यु लगाएको हो ।

प्रदर्शनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घुसपैठ भएको आंशकामा फेरि कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ । आइतबार बिहान ८ देखि १० बजेसम्म हटाइएको कर्फ्यु पुनः लगाइएको हो । घटनाको छानबिनका लागि प्रधानमन्त्री स्तरको निर्णयबाट गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा उच्च स्तरीय छानबिन टोली गठन र मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय भएको छ। छानबिन टोली आइतबार नै हेलिकोप्टरबाट कालिकोट पुग्ने बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका नेता तथा कार्यकर्ताले प्रदर्शनमा आफ्नो समर्थन रहेको र न्यायका लागि अन्तिमसम्म लड्ने अभिव्यक्ति सामाजिक संजालबाट सार्वजनिक गरेपछि स्थानीय प्रशासन थप सशंकित भएको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पीडित पक्षसँग वार्ता भइरहेको र अवस्था सामान्य बन्दै गएका बेला विप्लवका कार्यकर्ताको घुसपैठ भएको आशंकामा पुनः कर्फ्यु जारी नै राखिएको बताए ।

उनले सुरुदेखि नै प्रदर्शनमा घुसपैठ भएकै कारण हिंसा भड्किएको बताए। घटनाको विरोधमा म्यादी, राजनीतिक दल र स्थानीयले प्रदर्शन थालेका हुन्। कर्फ्युका कारण दुई दिनदेखि सदरमुकाम मान्न बजार बन्द छ । कर्णाली राजमार्गको कालिकोट खण्डमासमेत यातायात अवरुद्ध भएको छ । सरकारले छानबिन समिति गठन गरे पनि स्थानीयले मृतकलाई सहिद घोषणा र गोली चलाउने प्रहरी, आदेश दिने सीडीओ र डीएसपीलाई तत्काल कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । समस्या समाधानका लागि कालिकोट पुगेका क्षेत्रीय प्रशासक सुरेश प्रधानले छानबिन टोली कालिकोट पुगेपछि पीडितसँग वार्ता हुने जनाए । पीडितका माग सुनुवाई गराउन आफूले पहल जारी राखेको भन्दै उनले आफन्तले शव बुझेपछि मात्र कफुर्यू हट्ने जानकारी दिए ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्