Logo
३ आश्विन २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशमा एमालेभन्दा नेपाली कांग्रेस ३ सिटले मात्रै कम्जोर

काठमाडौं : प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ । उसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ ।

निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ दलले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरेको हो । मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न चुनावको समानुपातिकतर्फ सातै प्रदेशमा दलले प्राप्त गरेका सिट संख्या आयोगले सार्वजनिक गरेको छ।

प्रदेश १ मा ३६, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४ प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५ प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २ सय २० सिट बाँडफाँट गरिएको हो । बाँडफाँट गरिएको सिटअनुसार एमालले ७५, कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले तीन-तीन सिट पाएका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रदेश ४ मा १ र प्रदेश ५ मा १ सिट हात पारेको छ । नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक÷एक सिट पाएका छन् ।

प्रत्यक्षतर्फ प्रदेश १ मा एमालेले ३६ सिट पाएको थियो । उसले प्रदेशसभा समानुपातिकतर्फ १५ सिट पाएको छ । त्यस्तै प्रत्यक्षतर्फ ८ सिट पाएको कांग्रेसले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी केन्द्रले ५ सिट पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षतर्फ १४ सिट जितेको एमालेले समानुपातिकतर्फ आधा अर्थात् ७ सिटमा चित्त बुझाउनुपरेको छ । प्रत्यक्षतर्फ ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाएको छ । प्रत्यक्षतर्फ ६ सिट जितेको माओवादीले समानुपातिकमा ५ सिट पाएको छ ।

समानुपातिकतर्फ राजपाले १० र संघीय समाजवादी फोरमले ९ सिट पाएका छन् । उनीहरूले प्रत्यक्षतर्फ क्रमशः १५ र २० सिट जितेका थिए । प्रदेश ३ मा प्रत्यक्षतर्फ ४२ सिट जितेको एमाले समानुपातिकतर्फ भने १६ सिटमा सीमित भएको छ । प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा त्यसको दोब्बर १४ सिट जितेको छ । प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ८ सिटमा झरेको छ ।

प्रदेश ४ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ १० सिट मात्रै पाएको छ । प्रत्यक्षमा ६ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएर दरिलो उपस्थिति देखाएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने तीन सिटमा चित बुझाउनुपर्ने भएको छ । प्रदेश ५ मा प्रत्यक्षमा २८ सिट जितेको एमालेले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १२ सिट पाएको छ ।

प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ६ सिटमा झरेको छ । प्रदेश ६ मा १४ सिट जितेको एमाले समानुपातिकतर्फ ६ सिटमा सीमित भएको छ । प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाएको छ । प्रत्यक्षतर्फ ९ सिट पाएको माओवादी केन्द्र समानुपातिकतर्फ ४ सिटमा सीमित छ । प्रदेश ७ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ ८ सिटमा चित्त बुझाउनुपरेको छ । प्रत्यक्षतर्फ ४ सिट जितेको कांग्रेसले समानुपातिकमा ८ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी समानुपातिकमा भने ४ सिटमा समेटिएको छ ।

बाँडफाँट गरिएको सिट संख्या दललाई उपलब्ध गराएर उम्मेदवार छनोट गरी पठाउन आयोगले पत्राचार गरेको आयोगका सचिव वेगेन्द्रराज शर्माले बताए । ‘बन्दसूचीका उम्मेदवारलाई प्राथमिकताका आधारमा क्लस्टरअनुसार सात दिनभित्र आयोगमा नाम बुझाउन दलहरूलाई शुक्रबार नै पत्राचार गरिएको छ’, सचिव शर्माले भने ।

दलले उम्मेदवारको बन्दसूची तयार गर्दा कुल उम्मेदवारको कम्तीमा पचास प्रतिशत महिला समावेश गर्नुपर्नेछ । बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समेतको प्रतिनिधित्व गराउनुपर्नेछ भन्दै अन्नपुर्ण पोष्टमा खबर छ ।

आयोगले प्रदेशतर्फको समानुपातिकतर्फको सिट बाँडफाँट गरे पनि प्रतिनिधिसभाको भने अझै सिट निर्धारण गरेको छैन ।प्रतिनिधिसभा समानुपातिकतर्फ ३ सय ३० सिटको अन्तिम नतिजा तयार गर्ने कार्य भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ दलले पाउने सिट संख्या बाँडफाँट गर्न अझै दुई–तीन दिन लाग्ने बताइएको छ ।

फोरम र राजपा ४ वटा प्रदेशमा शून्य
समानुपातिकतर्फ राजपा र संघीय फोरमले चार प्रदेशमा मात्रै मत पाएका छन् । ती दुई दलले तराई तथा पहाडी जिल्लामा मत प्राप्त गरे पनि प्रदेश ३, प्रदेश ४ र प्रदेश ६ मा निल भएका छन् । प्रदेश १ मा संघीय समाजवादीले ७० हजार ४ सय ७६ मत पायो भने राजपा शून्यमा रह्यो ।संघीय फोरमले प्रदेश १ मा २, प्रदेश २ मा ९, र प्रदेश ५ मा २ गरी १३ सिट पाएको हो । त्यस्तै राजपाले प्रदेश २ मा १०, प्रदेश ५ मा १ र प्रदेश ७ मा १ गरी १२ सिट पाएको हो।

प्रदेश २ मा संघीय फोरमले २ लाख ८४ हजार ७२ मत प्राप्त गरेको छ भने राजपाले ३ लाख १८ हजार ५ सय २४ मत पाएको छ । त्यस्तै प्रदेश ५ मा संघीय फोरमले ७८ हजार ५ सय ६७ मत ल्याएको छ भने राजपाले ५४ हजार १ सय १० मत प्राप्त गरेको छ । प्रदेश ७ मा संघीय फोरमले मत पाएन भने राजपाले ३६ हजार ९ सय २ मत पाएको छ ।

सिट नपाउने दल
प्रदेशसभा निर्वाचन कानुनअनुसार साढे एक प्रतिशत थे्रस होल्ड कटाए पनि प्रदेश ४ मा विवेकशील साझा र राप्रपाले एक सिट पनि पाएनन् । त्यस्तै प्रदेश ६ मा नेपाल मजदुर किसान पार्टी र प्रदेश ७ मा राप्रपाले थे्रस होल्ड कटाए पनि सिट पाएनन् ।

५ लाख २३ हजार मत खेर
थे्रसहोल्ड पार नगर्दा दललाई प्राप्त हजारैाँ मत खेर गएको छ । आयोग सचिव शर्माले मत सदर भए पनि निर्धारित संख्या पार नगर्दा दलले प्राप्त गरेको मत खेर गएको बताए । साढे एक प्रतिशतभन्दा कम मत पाएका दलको मतगणना नै भएन । थ्रेसहोल्ड नकटाउनेमा प्रदेश १ मा २१, प्रदेश २ मा २३, प्रदेश ३ मा २४ प्रदेश ४ मा १३, प्रदेश ५ मा २१, प्रदेश ६ मा १३ र प्रदेश ७ मा १५ दल छन् । उनीहरूले प्राप्त गरेको मतगणना गरिएन ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्