अन्तिम चरणमा समानुपातिकको मतगणना मात्रै ४ जिल्ला बाँकी
काठमाडौं : मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतपरिणाम घोषणा गरिसकेको निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको बताएको छ । शुक्रवार विहानसम्ममा ७३ जिल्लाको मतगणना सकिएको आयोगले बताएको छ ।
अब ४ जिल्लाको मात्र मतगणना बाँकी रहेको आयोगको भनाई छ । मत गन्न बाँकी रहेका जिल्लाहरुमा सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ हुन् । आयोगका अनुसार ८८ लाख ३५ हजार ८ सय ६८ मत गणना भइसकेको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार समानुपातिक तर्फ नेकपा एमाले पहिलो, नेपाली काँग्रेस एमालेभन्दा ५० हजारभन्दा कम मतसहित दोस्रो र माओवादी केन्द्र तेस्रो दलका रुपमा देखिएका छन् ।प्रत्यक्ष र समानुपातिक मतका आधारमा यो पटक पाँच ओटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।