भाग्न होइन भगाउन आएको हो, जनकपुरमै मधेस भवन बनांंउछु : महतो
जनकपुर : बाहरिया उम्मेदवारको आरोप लागेपछि धनुषा ३ मा राजपा उम्मेदवार राजेन्द्र महतोले जनकपुरमा घर किन्ने घोषणा गरेका छन् । आफू भाग्न नभई मधेस विरोधीलाई भगाउन आएको भन्दै उनले जनकपुरमा मधेस भवन बनाउने बताए ।
जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी मधेसी गठबन्धनका उम्मेदवार महतोले यो चुनावले (विमेलेन्द) निधिको शासन अन्त्य र विधिको शासन सुरुवात गर्ने दाबी गरे । आफ्ना प्रतिस्पर्धीले मतदातालाई डर धक्की दिन सुरु गरेको गरेको दाबी गर्दै उनले भने, ‘प्रशासनलाई पनि सचेत गराउँछु कि यहाँ निश्पक्ष चुनाव गराऊ । अलिकति तलमाथि भयो भने जनताले छाड्ने छैनन् ।’
मतको सुरक्षा गर्न आफू तयार रहेको भन्दै उनले निर्धक्क भएर मतदानमा आउन आहृवान गरे । कांग्रेस उम्मेदवार निधिलाई जेलमा रहेका सजंय शाहको समर्थनप्रति संकेत गर्दै उनले मधेसको राजधानी जनकपुरलाई अपराधिकरणतिर लैजाने खोजेको आरोप लगाए । उनले भने, अपराधमुक्त जनकपुर बनाउने अभियान हामीले सुरु गरेका छन् । कुनै पनि हालतमा जनकपुरलाई अपराधमुक्त बनाइन्छ ।’
निधिले आफूलाई भोट नदिए जनकपुर राजधानी बन्दैन भनेर धम्की दिएको आरोप लगाउँँदै महतोले प्रदेश २ मा राजपा फोरमको बहुमत आउने र जनकपुरलाई प्रदेशको राजधानी बन्नबाट कुनै शक्तिले रोक्न नसक्ने दाबी गरे ।