सुरक्षा जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’ अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिने सापकोटाले बताए । बैठकमा प्रधानमन्त्रीले झोलामा राखेर बम लगेर विस्फोट गराउँदा पनि थाहा नपाएको भन्दै आक्रोस पोखेको थिए । उनले सुरक्षा चेकजाँच कडा बनाउन निर्देशन दिएका छन् । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
गृहसचिव सापकोटाका अनुसार दाङ र उदयपुरमा भएको बम विस्फोटबारे थप अनुसन्धान भइरहेको छ । मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।
यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् । थुप्रै ठाउँमा उम्मेदवार लक्षित विस्फोट भएका छन् । सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।