कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट
काभ्रे । प्रतिनिधी सभा क्षेत्र नं १ अन्तगर्तको प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र बहादुर (सिबी) तामाङलाई लक्षित गरेर बुधवार राति रोशी गाउँपालिका १० वाल्टिङमा बम बिस्फोट गराइएको छ । सिबी चढेको गाडी लक्षित गरेर बिस्फोट गराएपनि गाडी पार भइसकेको कारण कुनै क्षति नभएको घटनास्थलामा रहेका पत्रकार कपिल कोइरालाले जानकारी दिए ।
उम्मेदवारको सुरक्षाको लागि गएको इलाका प्रहरी कार्यलय मंगलटार र प्रचारका लागि गएका अन्य गाडीमा पनि कुनै क्षति भएको छैन । घटनास्थल आसपास प्रेसरकुकरका टुक्रा भेटिएको पत्रकार कोइरालाले जानकारी दिए ।
वाल्टिङको कार्यक्रम सकेर मंगलटारको कार्यक्रमलाई प्रश्थान गर्ने क्रममा जंगलमा बिस्फोट गराइएको हो ।
घटनापछि सबै कार्यक्रम स्थगित गरेर कांग्रेस टोली बनेपा फर्किएको छ । काभ्रेमा बिस्फोट भएको यो पहिलो घटना हो ।