Logo
१० मंसिर २०८१, सोमबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्जिनियरिङ कलेजमा हिनामिना : १० करोडभन्दा बढी व्यक्तिको खातामा

काठमाडौं : सामाजिक संस्थाका रूपमा स्थापित नेपालको पहिलो इन्जिनियरिङ कलेजका सञ्चालकहरूले कानुनविपरीत १० करोड रुपैयाँभन्दा बढी रकम पारिश्रमिक र सुविधाका नाममा भुक्तानी लिएका छन् । मंसिर १३, २०७४-भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ ।

कलेज स्रोतले उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ । ‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेज स्रोतले भन्यो, ‘तलब र अन्य सुविधा बाहेक विभिन्न शीर्षकमा खर्च देखाई रकम निकालिएको छ ।’ सादा कागजमा विवरण लेखेर कतिपय खर्चको औचित्य पुष्टि गर्न खोजिएको स्रोतले बतायो ।

जनसम्पर्क र विद्यार्थी संगठनका नाममा खर्च देखाइएको छ । विद्यार्थी संगठनलाई बाँडेको भनी ८ करोड २५ लाख रुपैयाँ खर्च देखाइएको छ । ‘तर भर्पाइ र रसिद भने लेखाको कागजातमा देखिँदैन,’ स्रोतले भन्यो । कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेका नाममा पटक–पटक गरी ८ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ । नियमित तलबबाहेक उनले जनसम्पर्क, यातायात र अन्य खर्चका नाममा भुक्तानी लिएका छन् । अर्का सञ्चालक लवराज भट्टराईले २ करोड ३२ लाख रुपैयाँ निकासा लिएको लेखास्रोतले बतायो ।

सञ्चालकहरू उपेन्द्र गौतम र सूर्यबहादुर केसीका नाममा भएको भुक्तानीसमेत २/२ करोड रुपैयाँ नाघेको देखिन्छ । कलेजका सञ्चालकहरूले लिएको भुक्तानीको कागजात सुरक्षित छ । सामाजिक संस्थाका रूपमा सञ्चालित कलेजका सञ्चालकहरूले आफूहरूलाई डेढ/डेढ करोड रुपैयाँ बाँड्ने विवादास्पद निर्णय गरेका थिए । हरि पाण्डे र दीपक भट्टराईबाहेक सबै सञ्चालकले उक्त रकम बुझिसकेको स्रोतले जनायो । कलेजलाई निजीकरण गरी कम्पनीमा परिणत गर्ने प्रयास भने चौतर्फी विरोधपछि असफल भएको छ ।

कलेज स्रोतबाट प्राप्त कागजातमा खातामा रहेको रकममध्ये विभिन्न शीर्षकमा सञ्चालकहरूलाई सुविधा दिने भनी विवादास्पद निर्णय भएको देखिन्छ । अध्यक्षले वार्षिक डेढ करोड रुपैयाँ विद्यार्थी संगठनका नाममा बाँड्ने निर्णय गराएका छन् । ‘उक्त खर्चको स्रोतसमेत पेस गर्न नपर्ने भनी विवादास्पद निर्णय भएको छ,’ स्रोतले भन्यो ।

कलेजमा १५ करोड रुपैयाँ उठाउन बाँकी रहेकाले त्यसका लागि १५ प्रतिशत रकम खर्च लाग्ने भन्दै करिब २ करोड २५ लाख रुपैयाँको हिसाब नै देखाउन नपर्ने भनी खर्च गरिएको स्रोतले बतायो । कलेजका अध्यक्षका लागि कलेजको विकास र सञ्चालनका नाममा मासिक पारिश्रमिक ५ लाख रुपैयाँ दिने बोर्डले निर्णय गरेको छ । अरू सञ्चालकले मासिक १ लाख २५ हजार रुपैयाँ सुविधा लिइरहेका छन् । त्यसबाहेक अध्यक्षको परिवार अस्ट्रेलियामा रहेको भन्दै वार्षिक रूपमा तीन पटक अस्ट्रेलिया जाने/आउने सुविधा दिने गरेको स्रोतले जनायो । ‘उहाँ मात्रै होइन, श्रीमतीलाई समेत आउनजान सुविधा दिइएको भेटियो,’ स्रोतले भन्यो ।

सञ्चालकमध्येका हरि पाण्डेले विभिन्न नाममा कलेजबाट सञ्चालकहरूले सुविधा लिएको बताए । ‘सुरुमा झुक्किएर मैले पनि सामाजिक संस्थाकै नाममा सुविधा लिएको थिएँ,’ पाण्डेले भने, ‘यथार्थ थाहा पाएपछि मैले ब्याजसहित रकम फिर्ता गरेको छु । अन्य सञ्चालकले पनि रकम फिर्ता गर्नुपर्छ ।’ उनका अनुसार सबै सञ्चालकलाई रकम फिर्ता गर्न पत्र काटिएको छ । केही अवधिको कागजात हेर्दा सबै सञ्चालकले मासिक सुविधा लिएको कलेज स्रोतले बतायो । #कान्तिपुरबाट

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्