Logo
१७ कार्तिक २०८१, शनिबार
(November 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टाभित्र कर्मचारी सरुवाको सक्कल फाइल पेश गर्न आयोगको निर्देशन

काठमाडौं :  निर्वाचन आयोगले कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले छ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखी पठाएको थियो । तर निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उक्त पत्रमा सहमति प्रदान गर्न नसकिने बताएका छन् ।

गृह मन्त्रालयले निर्वाचनको मुखैमा आएर तीनजना प्रमुख जिल्ला अधिकारी सहित ६ जना कर्मचारीको केही दिन अघि सरुवा गरेको थियो । उक्त सरुवा निर्वाचन आचारसंहिता विपरीत भएको आयोगको ठहर छ ।

आयोगको निर्णय जस्ताको तस्तै :
‘‘प्रस्तुत विषयमा तहाँको च.नं. ११४१, मिति २०७४।०८।०४ को रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीहरूको (जसमध्ये ३ जना प्र.जि.अ.हरु) काज सरुवा गरी आयोगको सहमतिका लागि लेखिएको पत्र आयोगमा मिति २०७४-०८-०५ मा प्राप्त भयो । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा मिति २०७४।०५।१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचार संहिता २०७२ मा स्पष्ट रहेको छ ।

प्रस्तुत सन्दर्भमा तहाँबाट माग भएबमोजिमको काज सरुवाका लागि सहमति प्रदान नगरिएको र उक्त काज सरुवाको निर्णयको सक्कलै फाइल पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगमा उपलब्ध गराउनु हुनसमेत निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४।८।५ को निर्णयानुसार अनुरोध छ ।’’

प्रकाशित मिति: Nov 23, 2017

प्रतिक्रिया दिनुहोस्