इटहरीमा भिषण आगलागी, उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर जाँदै
सनुसरी । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भिषण आगलागी भएको छ । बुधबार बिहान ९ बजेदेखि सूरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ।
भवन भित्र होटल वरन्डा, वरन्डा रेस्टुरेन्ट, क्युएफेक्स सिनेमा हल, सनराई बैक तथा अन्य साना पसलहरु पनि छन् । अहिले होटल तथा रेस्टुरेन्टमा रहेका मानिसहरु आगोमा फसेको प्रहरीले जनाएको छ । उद्धारका लागि काठमाडौबाट नेपाली सेनाको हेलिकप्टर सुनसरी जान लागेको गृह मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म भवन भित्रबाट ७ जनाको उद्धार भएको इटहरी उपमहानगरपालिका ६का वडा अध्यक्ष दिवस पोखरेलले बताएका । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ भने दमकलले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।
अहिले आगो झन् बढीरहेको जनाइएको छ ।