विपक्षीहरुले सदनमा प्रधानमन्त्री खोजे, प्रधानमन्त्री ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा
काठमाडौं, १३ चैत्र । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । भूमिसम्बन्धी अध्यादेश अघि बढाउने विषयमा साझा सहमति गर्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बैठक हिजोपनि बसेको थियो ।
तर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सरिक नभएकोले हिजोको बैठक विषयमा प्रवेश नगरी सकिएको थियो । अहिले बैठक जारी छ । उता, प्रतिनिधिसभामा भने विपक्षी दलहरुले सदन अवरोध गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संयुक्त रुपमा सदनमा प्रतिरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विपक्षीहरुको तर्फबाट आफ्नो धारणा राखेका थिए । उनले सरकारको जवाफ त्यसमा पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने घोषणा गरेलगत्तै सदन अवरुद्ध गरिएको छ । उता, प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा व्यस्त छन् । आजको बैठकमा उपेन्द्र यादवपनि सरिक छन् ।
उता, प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा व्यस्त छन् । आजको बैठकमा उपेन्द्र यादवपनि सरिक छन् । यादव आज वरिष्ठ नेता राजकिशोर यादव, लालबाबु राउत र मनिष सुमन लिएर बालुवाटार गएका हुन् । उता, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन् । यस्तै, एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । जनमतबाट अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपाका अध्यक्ष अशोक राईपनि सहभागी छन् ।