स्ववियु निर्वाचन : काठमाडौंका मुख्य क्याम्पसमा स्थगित, ४५ आंगिक क्याम्पसमा मतदान
५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ ।
‘डोटीदेखि झापासम्म र मधेशमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ । बिहानसम्मको अपडेट अनुसार ४५ वटा आंगिक क्याम्पसमा चुनाव भइरहेको छ,’ उनले भने ।
काठमडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ ।
चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको शिक्षाध्यक्ष खड्ग केसीले बताए । ‘अनुगमनसँगै सुरक्षाको लागि प्रहरीको टोली खटिएको छ,’ उनले भने ।
काठमाडौंका मुख्य क्याम्पसमा चुनाव स्थगित
निर्वाचनको तयारी पूरा भएपछि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ । रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ ।
शिक्षाध्यक्ष केसीका अनुसार त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा चुनाव रोकिएको छ ।
विश्वविद्यालय क्याम्पसमा भने चैत ८ का लागि चुनाव तोकिएको छ । त्रिविको भैरहवा, बुटवल र जनकपुरको क्याम्पसमा पनि स्थगित भएको शिक्षाध्यक्ष केसीले बताए ।
स्थगित भएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउने तयारी भइरहेको छ । ‘छिट्टै चुनाव गराउने गरी छलफल भइरहेको छ,’ उनले भने ।
त्रिविका ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्पसमा चुनाव भएको थियो ।
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।