पोखरामा हरित रोजगारी परियोजना : १० मिलियन लगानी, ३ हजारलाई रोजगारी
५ चैत, पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना थालनी भएको छ । यो परियोजनामा झण्डै १० मिलियन अमेरिकी डलरको लगाी गरेर ३ हजारभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
प्रदर्शनी केन्द्र पोखराको पुरानो स्वरुप तथा अन्य कार्यक्रम गर्ने स्थललाई बिग्रन नदिने बरु सौन्दर्यीकरण गर्ने गरी कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले परियोजना सुरु गर्न लागेको हो । यही परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ ।
फोहोरबाट कोसेली बनाएर बेच्ने गरी यो घरको निर्माण थालिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरेका हुन् ।
परियोजनाले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्वपूर्ण योगदान गर्ने मेयर धनराज आचार्यको भनाइ छ ।
फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण मेयर आचार्यले दाबी गरे ।
यो पपिरयोजनाले सामुदायस्तरमा रोजगारी सिर्जना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसरसमेत प्रदान गर्ने मेयर आचार्यले बताए ।
परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सिर्जना हुने उनको भनाइ थियो ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबीचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप-साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताए ।
परियोजनामार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्ने छन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ ।
परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।