Logo
१० मंसिर २०८१, सोमबार
(November 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवारमाथिको अज्ञात आक्रमण निन्दनीय : अमेरिका

काठमाडौं : संयुक्त राज्य अमेरिकाले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत हिंसाद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कार्यको निन्दासमेत गरेको छ ।

अमेरिकाले आसन्न निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरेको छ ।’हिंसा वा हानीको त्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिक हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको मुख्य सिद्धान्त हो’, विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय तहका तीनवटै चरणका निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएपछिको अवस्थामा अहिले उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ । हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्ति स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र अधिकारलाई सम्मान गर्न अमेरिकाले सबै पक्षसँग आग्रह गरेको छ ।’निर्वाचन राजनीतिक बहसको समय भए पनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गरिन्छ ।

हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न आग्रह गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । अमेरिकाले शान्तिपूर्ण, समावेशी, व्यापक समर्थनप्राप्त तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सरोकारवाला सबैसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

प्रकाशित मिति: Nov 20, 2017

प्रतिक्रिया दिनुहोस्