Logo
१० मंसिर २०८१, सोमबार
(November 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवका जिल्ला इन्चार्ज सहित पाँच पक्राउ

मोरङ : निर्वाचनविरोधी गतिविधी गरेको आरोपमा मोरङका विभिन्न ठाउँबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले पार्टीका मोरङ इन्चार्ज ओखलढुंगा भएका ३५ वर्षीय पुस्कर श्रेष्ठलाई पक्राउ गरेको छ ।

क्षेत्रीय इन्चार्ज उर्लाबारी नगरपालिका २ का ४८ वर्षीय डिल्ली नेपाली, टाँडी जनसरकार प्रमुख मिक्लाजुङ गाउँपालिका ३ का ३७ वर्षीय जगत मगर, उर्लाबारी ७ का ५३ वर्षीय प्रकाश घिमिरे र मिक्लाजुङ ३ का ६३ वर्षीय गोविन्द कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायतका गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका नेता कार्यकर्ताविरुद्ध सोमबार सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी बिसीले दिए । बिसीका अनुसार पक्राउ परेकाहरूसँग पार्टीका विभिन्न कागजपत्र, दस्तावेज, १८ लाख रुपैयाँको हिसाब किताब गरिएको कागज लगायत फेला पारिएको छ । १८ लाख रुपैयाँ हिसाव गरिएको कागज जिल्ला इन्चार्ज श्रेष्ठसंग फेला पारिएको उनले बताए ।

त्यो रकमका बारेमा पक्राउ परेकाले केही नखुलाए पनि प्रहरीले चन्दा संकलन गरेको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले निर्वाचन विरोधी गतिविधिसँग विप्लवका नेता कार्यकर्ता चन्दा आतंकमा पनि संलग्न रहने गरेको बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न सोमबार निर्देशन दिएका थिए ।

प्रकाशित मिति: Nov 20, 2017

प्रतिक्रिया दिनुहोस्