अस्पताल नपुग्दै प्रचण्डपुत्र प्रकाश दाहालको निधन
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ । आइतबार विहान ५ बजे अचानक बेहोस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
अस्पताल नपुग्दै उनको निधन भइसकेको अस्पतालका महाप्रबन्धक रबि शर्माले जानकारी दिए । यतिबेला अस्पताल परिसरमा सर्वसाधारण र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।
प्रकाश दाहालको हृदयघातका कारण निधन भएको बताइएको छ । काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो ।
बिहान साढे ५ बजे अस्पताल पुर्याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो । ‘५:३० मा अस्पताल पुर्याउँदा मुटु बन्द भएको ४-५ घन्टा भइसकेको थियो ।
यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ,’ संलग्न एक डाक्टरले भने । निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ ।
चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल केहीबेरमै काठमाडौं पुग्नेछन् । उनी हेलिकोप्टरमार्फत् काठमाडौं आउँदैछन् ।
यता चितवनबाट दाहालकी छोरी रेणु दाहाल पनि काठमाडौं आउँदैछन् । प्लेन आउन ढिला भएपछि उनी पनि होलिकोप्टरबाट काठमाडौं आउने तयारी गरेकी छन् ।