हृदयघातका कारण दाहालका सुपुत्र प्रकाशको निधन, औपचारिक पुष्टि हुन बाँकी
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन ।
केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् ।
चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
अस्पताल स्रोतका अनुसार प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएको हो । आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् ।
प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।