Logo
२१ कार्तिक २०८१, बुधबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा

काठमाडौँ : यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछिको गरी तीन तहको निर्वाचन सुरक्षा योजना बनेको छ, प्रवक्ता दुवाडीले भने“निर्वाचनपूर्व खबर संकलन, कमाण्ड पोष्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदानस्थलको सुरक्षा व्यवस्थालगायतका निर्वाचन पूर्व तयारीका काम लगभग सकिएको छ ।”

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने छ । मतदान केन्द्रको अवस्था हेरेर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको प्रवक्ता दुवाडीले बताउनुभयो । सामान्य मतदानस्थलमा प्रहरी र म्यादी प्रहरी गरेर आठ जना, संवेदनशील मतदान केन्द्रमा ११ र अतिसंवेदनशील मतदान केन्द्रमा १५ जनाका दरले प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।

केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा योजना र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनेको छ । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्नेतर्फ ध्यान दिँदै भारत र चीनतर्फका सीमामा सुरक्षाजाँचमा कडाइ गरिएको छ । आवश्यकताअनुसार विभिन्न नाकामा तालीम प्राप्त कुकुरको समेत परिचालन गरिएको छ ।

सय बढी पक्राउ 
प्रवक्ता दुवाडीले निर्वाचन विरोधी गतिविधिमा संलग्न १०० भन्दा बढी व्यक्तिलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अधिकांश निर्वाचन बहिस्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेका छन् ।

पछिल्लो समय निर्वाचन विरोधी समूहले रोल्पामा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा ९माओवादी केन्द्र०का रोल्पा प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन, प्रदेशसभा उम्मेदवार कुलप्रसाद केसी, भोजपुरमा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राई, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ, नुवाकोटमा काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा रामशरण महत र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका उम्मेदवामाथि आक्रमण गरेको छ । रासस

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्