Logo
२१ कार्तिक २०८१, बुधबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिठ्ठा परेको भन्दै ठगी गर्नेहरु ८६ लाख रकमसहित पक्राउ

विराटनगर : प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित छ जनालाई रू.८६ लाख रकमसहित पक्राउ गरी यहाँ शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी दुहबी नगरपालिका– ६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, सोही स्थानका ४० वर्षीय ललित सेठिया, सोही स्थानका ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्णलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विराटनगर– ७ स्थित सेठियाको कार्यालयको कोठाबाट नगद रू.८६ लाख ५९ हजार ३ सय ४५, भारतीय एक हजार, चाँदीको टुक्रा चार थान, चाँदीको सिक्का दुई थान र मोबाइल छ थान र अन्य कागजागतसहित बिहीवार पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले निजले पर्वत देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका– १५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी रू. ४० लाख चिठ्ठा परेको छ भन्दै पटकपटक गरी रू.चार लाख ५३ हजार, बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा रकम आइएमइ गरी पठाउन लगाएको पुनःथप रकम माग्ने क्रममा शंका लागी प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।

निजले मोबाइलमा चिठ्ठाको तस्वीर पठाइ भारतको मुम्बइको नम्बरमा फोन गर्न लगाइ नेपालको विभिन्न जिल्लामा रहेको आइएमइ केन्द्रमा माग भएअनुसारको रकम पठाउन लगाउने र सो रकमपछि विदेशमा हुण्डीमार्फत पठाउने गरिएको प्रहरीले बताएको छ । उनीहरुबाट ठगिएका अन्य व्यक्ति आउनेक्रम जारी रहेको र थप अनुसन्धानका लागि विशेषज्ञको टोली प्रहरी केन्द्रीय कार्यालयबाट माग गरिएको प्रहरी उपरीक्षक बिसीले पत्रकारलाई बताए । रासस

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्