कम्युनिष्ट एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा : प्रम देउवा
दार्चुला । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको बताएका छन् । काङ्ग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा शुक्रवार आयोजित चुनावी आमसभामा काङ्ग्रेस सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए । “कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका छन्” प्रधानमन्त्री देउवाले भने ।
विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको काङ्ग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै उनले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट गरे । दार्चुलाको विकासका लागि काङ्ग्रेस सदैव तयार छ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए । प्रधानमन्त्रीले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २ सय ९० किमीको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सीमाना जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सोही सभामा काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्लाका नौ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा काङ्ग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गरे । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकास काङ्ग्रेस जित्दा मात्रै हुने बताए । यस्तै प्रदेशसभा क्षेत्र नं कमा सदस्यका उम्मेदवार मदन गिरीले महाकाली करिडोर पूरा गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए ।