Logo
३ आश्विन २०८१, बिहीबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिम सेती बन्ने निश्चित

काठमाडौं । ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुनिश्चित भएको छ । बिहीवार नेपाल विद्युत् प्राधिकरण (एनइए) र चाइना कम्पनी थ्री गर्जेज कर्पाेरेशन (सिटिजी)बीच संयुक्त उपक्रम सम्झौता (जेभीए) भएपछि आयोजना निर्माण सुनिश्चित भएको हो । नेपाल सरकार र उक्त चिनियाँ कम्पनीबीच ५ वर्षअघि आयोजना निर्माणको विषयमा समझदारी भएको थियो । रू. १ खर्ब ८० अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाको निर्माण कार्य ६ वर्ष ७ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जानकारी दिएको छ ।

बिहीवार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले आयोजना निर्माणका लागि जेभीएमा हस्ताक्षर गरे । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जेभीएमा हस्ताक्षर भएसँगै आयोजना निर्माणको कामले सुनिश्चितता पाएको बताए । उनले भने, ‘जेभीए भएसँगै संयुक्त कम्पनी खोल्ने र संयुक्त लगानी गर्ने कामको लागि बाटो खुलेको छ, तर यसका लागि लगानी बोर्डले बिहीवार भएको जेभीए र लगानीको अनुमति दिनु पहिलो आवश्यकता हो ।’ योसँगै आयोजना निर्माणमा जानका लागि बाटो खुलेको छ । उनका अनुसार बोर्डले स्वीकृति दिएपछि मात्रै कम्पनी दर्ता भइ काम शुरू हुनेछ । करीब एक महीनामा कम्पनी दर्ता हुने प्राधिकरणको विश्वास रहेको छ ।

उक्त आयोजनामा थ्री गर्जेजको इक्विटी शेयर ७५ प्रतिशत रहने छ भने प्राधिकरणको २५ प्रतिशत रहने छ । दुवै लगानीकर्ता कम्पनीको सहमतिमा  कम्पनीको नाम ‘वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड’ राखिएको छ । प्रवक्ता अधिकारीले भने, ‘थ्री गर्जेजको ७५ प्रतिशत शेयरमध्ये १० प्रतिशत शेयर अनिवार्य रूपमा उक्त आयोजना प्रभावितलाई दिनैपर्ने प्रावधान रहेको छ भने १४ प्रतिशत स्थानीय लगानीकर्तालाई उक्त कम्पनीले शेयर उपलब्ध गराउने छ ।’

आयोजनाबाट डोटी, डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका ११ हजार वासिन्दा प्रभावित हुनेछन् । यस्तै प्राधिकरणले आयोजनामा लगानी गर्नका लागि चिनियाँ एक्जिम बैङ्कबाट सहुलियत ऋण लिने भएको छ । अन्य बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने भएमा सरकार, थ्री गर्जेज र प्राधिकरणको स्वीकृतिमा मात्रै ऋण लिन पाइनेछ । नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाहरू कम हुँदा हिउँदमा लोडशेडिङ हुँदै आएको अवस्थामा पश्चिम सेती जलाशययुक्त आयोजना निर्माण भएपछि यो समस्या समाधानमा सहयोग पुग्ने विश्वास विज्ञहरूले गरेका छन् । नेपालमा हाल जलाशययुक्त आयोजना कुलेखानीमात्रै रहेको छ ।

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्