काभ्रेको महाभारतमा आगलागी नियन्त्रण बाहिर, बस्ती जोगाउन सेना-प्रहरी परिचालन
१० माघ, काभ्रे । काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको सामुदायिक वनमा मंगलबार दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण बाहिर पुगेको छ ।
नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।
बिहीबार दिउँसो ३ बजे आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक समेत बस्दैछ । बैठकले स्थलबाट निभाउन सम्भावना नभए हेलिकोप्टरमार्फत् भएपनि आगो निभाउनका लागि संघीय सरकारलाई अनुरोध गरिने जनाइएको छ ।
जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले प्रहरी चौकी फलामेटार, गोकुले तथा डेबिटारको टोली स्थलमा पुगेको जानकारी दिइन् ।
स्थानीय प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोका अनुसार जंगलमा आगो लागेपनि बस्तीमा आइनपुगेको जानकारी दिए ।