Logo
९ माघ २०८१, बुधबार
(January 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था फराकिलो बनाउन व्यवसायीको माग

९ पुस, काठमाडौं । घरजग्गा क्षेत्रमा क्रियाशील व्यवसायीहरुको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था फराकिलो बनाउन माग गरेको छ । साथै महासंघले रियल स्टेट परियोजनामा विदेशी लगानी भित्राउन पाउने र विदेशीले पनि अपार्टमेन्ट खरिद गर्न पाउने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

यसो भएमा घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्न सहयोग मिल्ने र मुलुकको अर्थतन्त्र सुदृढ हुने महासंघको दाबी छ । महासंघले शहरी विकास तथा घरजग्गा सम्बन्धी कानुनी तथा नीतिगत विषयमा समसामयिक सुधार गरी रियल स्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्नुपर्ने मत राख्दै आएको छ ।

यही माघ चार गते मकवानपुरको हेटौंडामा आयोजित महासंघको केन्द्रीय कार्यसमितिको बैठक तथा अन्तरक्रियामा सहभागीहरुले प्रत्येक प्रदेशहरुमा कम्तीमा एउटा नमूना शहर निर्माण गर्ने र रियल स्टेट व्यवसाय प्रवद्र्धनका लागि जग्गाको हदबन्दी फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए ।

आज बिहान काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरुले पनि सो कुरा दोहोर्‍याएका छन् ।

नेपाल सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरी घरजग्गा व्यवसायमा हदबन्दी छुट दिने सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा सुधार गरेको भन्दै महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ ।

अब अध्यादेशले गरेको व्यवस्था कार्यान्वयनका लागि भूमि तथा मालपोत नियमावलीहरुमा संशोधन गर्न र जग्गा प्रशासन सम्बन्धी निर्देशिका एवम् कार्यविधि परिमार्जन गर्न पनि महासंघले माग गरेको छ ।

महासंघले खरिदबिक्री भइसकेका घर तथा अपार्टमेन्ट भित्रका संस्थापक/कम्पनीकै नाउँमा रहेका सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरण र त्यसको राजश्वका सम्बन्धमा समेत स्पष्ट कानुनी व्यवस्था गर्न पनि माग गरेको छ ।

रियलस्टेटमा विदेशी कम्पनी भित्रााएमा र विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने भएमा विदेशी मुद्रा सञ्चितीमा ठूलो योगदान पुग्ने महासंघको विश्वास छ । नेपाल सरकारले पटक पटक आफ्नो वार्षिक बजेटमा यो विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि सो सम्बन्धी कानुनी व्यवस्था नभएकाले कानुन निर्माण गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

हेर्नुहोस् जग्गा तथा आवास विकास महासंघका माग –

प्रकाशित मिति: Jan 22, 2025

प्रतिक्रिया दिनुहोस्