ढुक्क भएर पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन आग्रह
काठमाडौं । सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई एचपीभी खोप दिन लागिएको जनाएको हो ।
कार्यक्रममा टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताए । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको उनको भनाइ छ । विश्वभर हरेक वर्ष तीन लाख ११ हजार महिला महिलाको मृत्यु क्यान्सरका कारण हुने गरेको अनुमान छ । सन् २०३० सम्म त्यो सङ्ख्या चार लाख पुग्ने अनुमान गरिएको छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको डाक्टर गौतमले बताए । हरेक वर्ष एक हजार ३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको र औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) बाट सङ्क्रमण हुने गरेको उनको भनाइ छ । यो भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने उनले बताए ।
एचपीभी भाइरसबाट पटक पटक सङ्क्रमण भएर २० वर्षसम्म यो सङ्क्रमण रहेको खण्डमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने उनको भनाइ छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामको पहिलो उपाय नै एचपीभी खोप दिनु रहेको बताए । त्यो खोप जति सानो उमेरमा दिन सकियो त्यति बढी प्रभावकारी हुने उनको भनाइ छ । त्यसैले सरकारले यो वर्ष विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप दिन लागिएको बताए ।
लामो समयदेखिको तयारीपछि विद्यालयमै पुगेर किशोरीहरूलाई खोप दिन लागिएको बताए । त्यसका लागि देशभरका १९ हजार ८०० विद्यालयमा खोप दिन लागिएको बताए ।
यो खोप सरकारले निःशुल्क रूपमा दिन लागेको बताए । त्यसका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा १७ लाख ७० हजार ४०० मात्रा खोप नेपाल आइपुगेको छ ।
क्यान्ससको रोकथामका लागि दोस्रो तहको उपायमा हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउने र तृतीय तहको उपायमा पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाहरूको उपचार गर्ने रहेको उनको भनाइ छ ।
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि कम्तीमा ९० प्रतिशत १० देखि १४ वर्ष उमेर भित्रका किशोरीलाई एचपीभी खोप दिने लक्ष्य लिएको छ । त्यस्तै ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्ने र ९० प्रतिशत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा तीन वटा स्वास्थ्य सेवा निश्चित गन्तव्य निर्धारण गरेको छ । जसमा नेपाल सरकारले तीनवटै सेवाको कभरेज कम्तीमा ९० प्रतिशत हासिल गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
हाल विश्वका १९४ देशमध्ये १४५ देशले उक्त खोप दिँदै आएका छन् ।
राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ अश्विन २३ गते बसेको बैठकले खोप लगाउनेबारे सिफारिस गरेको थियो । सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कात्तिक ८ गतेको निर्णय अनुसार यो खाप एक मात्रा लगाउने तालिका निश्चित गरेको थियो । विगतमा एक मात्रा एचपीभी खोल लगाएका किशोरीहरूले अर्को मात्रा लगाउन आवश्यक नरहेको उनको भनाइ छ ।
उक्त भाइरसविरुद्ध सिकोलिन खोप लगाउन लागिएको हो । उक्त खोप लक्षित उमेर समूह बाहेक अन्य व्यक्तिलाई लगाउन नहुने उनको भनाइ छ । त्यस्तै गर्भवती किशोरी/महिला, विगतमा कुनै खोप लगाउँदा गम्भीर एलर्जी भएका व्यक्ति र विगतमा कुनै खोप लगाउँदा एनाफाईलेक्सिस प्रतिक्रिया भएका व्यक्तिले लगाउन नहुने बताए ।
खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने समस्या देखिन सक्ने उनको भनाइ छ । त्यस्तै कसैकसैलाई ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने समस्या पनि हुन सक्ने बताए । तर, यस प्रकारका प्रतिकूल असरहरू थोरै समयसम्म रहने र प्रायः गरेर आफैँ ठिक हुने उनको भनाइ छ ।
नेपालमा करिब ९ वर्ष अगाडि चितवन र कास्की जिल्लामा यो खोप सेवा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ९ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ६ महिनाको फरकमा दुई मात्रा लगाइएको थियो ।
यो खोप सेवा देशभरि विस्तार गर्ने योजना थियो । तर, विश्व बजारमा पर्याप्त मात्रामा खोप उपलब्ध नभएको तथा कोभिड–१९ महामारीले गर्दा समेत विस्तार हुन सकेको थिएन ।
गत वर्ष सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीलाई ६ महिनाको फरकमा दुई मात्रा लगाइएको थियो ।
लक्षित उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने हुँदा खोप सेवा विद्यालयमा आधारित खोप केन्द्रबाट दिनु बढी प्रभावकारी हुने देखिएको उनको भनाइ छ । त्यही भएर विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरेर दिन लागिएको उनको भनाइ छ ।
डाक्टर सरिता घिमिरेले जो पनि महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिममा हुने गरेको बताइन् । क्यान्सर लागेपछि उपचार गर्नुका विकल्प नभएको बताउँदै रोग लाग्न नदिनु नै उत्तम उपाय हुने घिमिरेको भनाइ छ ।
लामो समयदेखि क्यान्सर रोगको उपचारमा सक्रिय रहेकी डाक्टर घिमिरेले क्यान्सर गराउने भाइरस भित्र शरीरमा प्रवेश गरिसकेपछि केही गर्न नसकिने बताइन् ।
यसका लागि एचपीभए डीएनए टेस्ट, भीआईए टेस्ट गर्नुपर्ने बताइन् । यी परीक्षणहरू खर्चिला भएकाले पनि सबै महिलाहरूले नियमित परीक्षण गराउन नसकिरहेको बताउँदै त्यसका लागि सबै सरोकारवालाको क्षेत्रबाट पहल हुनुपर्ने बताइन ।
पाठेघरमा हुने क्यान्सर विभिन्न क्षेत्रसँग सम्बन्धित रहने गरेको उनले भनिन्, ‘पाठेघर निकालेर फाल्यो भन्दैमा क्यान्सर निको हुन्छ भन्ने हुँदैन । यसले त अन्य भागमा समेत सङ्क्रमण गर्छ । त्यसैले क्यान्सर मुक्त नै हुन्छ भन्ने हुँदैन ।’ यो क्यान्सरबाट बच्नका लागि जति सानो उमेरमा एचपीभी खोप लगाउन सकियो त्यति नै राम्रो हुने उनले बताइन् ।
परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले यो खोपका विषयमा विभिन्न खालका मिथ्या फैलिने गरेको बताउँदै यो खोप ढुक्क भएर लगाउन अनुरोध गरे ।
यसको बारेमा जानकारीको अभावमा त्रसित हुने गरेको बताउँदै अहिले व्यापक सचेतना फैलाउने काम भइरहेको बताए । विश्वव्यापी रूपमा यो खोपको उच्च माग रहेको बताउँदै नेपालले लामो समयको प्रयासपछि खोप पाएको बताए ।