ट्रम्पको शपथमा देखिएका रोचक दृष्य : बाइबलमा हात राखेनन्, भिडमा कलम फ्याँके
८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणको क्रममा केही रोचक दृष्यहरु देखिएका छन् र केही परम्परा पनि तोडिएका छन् ।
अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्ने बेला बाइबलमा हात राख्ने परम्परा ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तोडेका छन् ।सन् १७८९ मा जर्ज वाशिङ्टनले सुरू गरेका थिए ।
निवर्तमान राष्ट्रपति जो बाइडेनले पनि यसलाई निरन्तरा दिएका थिए । बाइडेनले शपथ खाने बेला पत्नी जील बाइडेनले समाएको बाइबलमाथि आफ्नो हात राखेका थिए ।
यसअघि अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले बाइबलको सट्टा संविधानमा हात राखेर शपथ लिएका थिए । त्यस्तै, थियोडोर रुजबेल्टले कुनै पनि पुस्तकमा हात नराखेर राष्ट्रपतिको शपथ लिएका थिए ।
शपथ ग्रहण गर्ने बेलामा बाइबलमाथि वा अरु कुनै पुस्तकमाथि हात राख्नुपर्ने भन्ने संवैधानिक व्यवस्था भने छैन । अमेरिकी संविधानमा राष्ट्रपतिले शपथ लिनुपर्ने विषय मात्र उल्लेख छ ।
त्यसैले ट्रम्पले शपथ ग्रहण गर्ने बेलामा उनले एक हात माथि उठाए भने उनको छेउँमा पत्नी मेलानिया दुई हात बाँधेर उभिइरहिन् ।
कार्यकारी आदेशमा हस्ताक्षर गरेर कलम भिडमा फ्याँके
ट्रम्पले शपथ ग्रहणपछि कार्यकारी आदेशहरु जारी गरेका छन् । यस क्रममा उनले अघिल्लो राष्ट्रपति जो बाइडेनको पालाका ७८ कार्यकारी आदेशहरु रद्ध गरेका छन् ।
ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका कलमहरु समर्थकहरुको भिडमा फ्याँकेका थिए ।
शपथ ग्रहण समारोह स्थलमा अत्यधिक जाडो भएकाले हलभित्र ट्रम्पको शपथ ग्रहण भएको थियो । हलभित्र शपथ ग्रहण गरेपछि ट्रम्पले समर्थकहरुलाई क्यापिल वान एरिनामा सम्बोधन गरेका थिए ।