Logo
४ माघ २०८१, शुक्रबार
(January 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् । मन्त्री राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो निर्देशन दिएकी हुन् ।

उनले भनिन्, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्‍याउने गरी कुनैपनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।”

आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरूलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सोचेर काम गर्न मिसन प्रमुखहरूलाई उनको सुझाव थियो ।

मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरूले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाई थियो ।

मन्त्री राणाले भनिन्, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई विश्व बजारसम्म पुर्याउन आवश्यक देखिएको छ ।”

मन्त्री राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्धन गर्ने कामका लागि आफू रहेका स्थानहरूमा समय समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी थिइन् ।

मन्त्री राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै गरिएको संगठन तथा व्यवस्थापन सर्भेबाट सहयोग पुग्ने बताउँदै यसबाट परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताइन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईले आफू रहेका देशका नीति एवं कार्यक्रमहरूलाई नेपालको स्वार्थअनुकुल बनाउन तथा विदेशमा रहेका नेपालीहरूको हक हितको रक्षा गरी वैदेशिक रोजगारीमा रहेको ठुलो नेपाली समुदायको हितको प्रवर्धनमा लाग्न निर्देशन दिए ।

प्रकाशित मिति: Jan 17, 2025

प्रतिक्रिया दिनुहोस्