Logo
२ माघ २०८१, बुधबार
(January 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खिचडी खाएर मधेसी मोर्चाको गृहकार्य, बैठकमा जसपा नेपाल अनुपस्थित

काठमाडौँ । मधेसवादी दलहरू आज मधेसी मोर्चा गठनका लागि गृहकार्यमा जुटेका छन् । मकर सङ्क्रान्तिको शुभ साइत पारेर मधेसवादी दलले कार्यदलहरूको बैठक बोलाएका हुन् ।

मधेसी दलका नेताहरू खिचडी खाएर बैठकमा जुटेका छन् । मकर सङ्क्रान्तिको विशेष परिकार खिचडी, भुजाको लड्डु, तिलको लड्डुलगायत अन्य परिकार खानपिन गरेर बैठकमा बसेका हुन् ।

बैठकमा मधेसी मोर्चा गठनको बारेमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने जस्ता प्रावधान ल्याउन लागेको आशङ्कामा मधेस केन्द्रित दलहरू एकीकृत हुन लागेका हुन् ।

त्यसका लागि मोर्चा गठनको गृहकार्यमा जुटेको बताइएको छ । धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट भने कोही पनि सहभागी छैनन् । बैठकमा जसपा नेपाललाई पनि बोलाएको थियो ।

जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । बैठकमा यादव नै आउने कुरा थियो तर उनी बैठकमा समाचार तयार पार्दासम्म उपस्थित भएका छैनन् ।

बैठकको संयोजन ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले गरेको छ । सो पार्टीका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक डा. शिवजी यादवले जसपा नेपालका उपाध्यक्ष यादवसँग कुरा हुँदा उनले बैठकमा आउने जवाफ दिएको रातोपाटीलाई बताए । आफूहरू यादवको प्रतीक्षामा रहेको उनले बताए ।

जसपा, लोसपा, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू बैठकमा उपस्थित छन् ।

प्रकाशित मिति: Jan 14, 2025

प्रतिक्रिया दिनुहोस्