७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौं महानगर
२६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।
‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सीपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
३ माघबाट सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ । तालिममा सहभागी हुन महानगरपालिकाले आवेदन माग गरेको छ ।
आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिने महानगरको शिक्षा विभागले जनाएको छ ।
विभागका अनुसार शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सीप र व्यवहारमा आधारित बनाउन तालिम दिन लागेको हो ।