Logo
२६ पुस २०८१, शुक्रबार
(January 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी दलसँग एकता र सहकार्यका लागि राजेन्द्र महतोको सर्त

काठमाडौँ । मधेस केन्द्रित दलहरू एकता र सहकार्यका लागि अघि सरेका छन् । नेताहरूले आ–आफ्नो पार्टीमा कार्यदल समेत गठन गरिसकेका छन् ।

तर राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले एकता र सहकार्यका लागि उद्देश्य स्पष्ट हुनुपर्ने सर्तअघि सारेको छ । पहिचानवादी शक्तिहरूको बिचमा सहकार्य र एकता हुनु राम्रो कुरा भए पनि त्यो केका लागि हो भन्ने कुरा स्पष्ट हुनुपर्ने पार्टीले जनाएको हो ।

चन्द्रागिरिमा तीन दिनसम्म चलेको पदाधिकारी बैठकमा यस बारेमा व्यापक छलफल भएको थियो । नेता सन्तोष मेहताले पार्टीमा मधेसी दलहरूसँग सहकार्य र एकताका लागि सबै सकारात्मक भए पनि यसको उद्देश्य स्पष्ट नभएको टिप्पणी भएको रातोपाटीलाई जानकारी दिए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महताको भनाइलाई उद्धृत गर्दै नेता महतोले भने, ‘मधेसी दलको बिचमा जस्तोसुकै एकता र सहकार्य भए पनि सत्ताधारी ठुला दलहरूले संविधान संशोधन गर्छन् नै किनभने यो संसद्बाट हुने कुरा हो । त्यसको लागि एकता वा मोर्चाबन्दी गर्नुको कुनै अर्थ छैन ।’

‘दीर्घकालीन परिवर्तन र सोचका लागि संघर्ष गर्ने हो भने सहकार्य र एकता गर्ने पक्षमा राष्ट्रिय मुक्ति पार्टी नेपाल रहेको छ । २०८४ को चुनावमा कसैलाई सांसद बनाउन, कसैलाई मन्त्री बनाउन वा कसैको दल जोगाउनका लागि एकता हुनुहुँदैन,’ भन्ने तर्क राष्ट्रिय मुक्ति पार्टीले गरेको छ ।

यसका लागि अध्यक्ष महतोले पनि चाँडै कार्यदल घोषणा गर्ने भएका छन् । कार्यदलले अन्य दलसँग छलफल गर्दा आफ्ना सर्तहरू राख्ने बताइएको छ ।

बैठकमा दुई वटा कार्यपत्रमा छलफल भएको छ । पार्टीका नेता बुद्ध छिरिङले प्रस्तुत गरेका राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा र नेता मेहताले प्रस्तुत गरेको राष्ट्रिय मुक्ति क्रान्तिको नीति र योजनामाथि छलफल भएको थियो ।

बैठकले यी दुवै कार्यपत्र पारित गरेको छ । यसलाई माघको दोस्रो हप्ता बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

चार दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकमा दुई दिन प्रशिक्षण चल्ने छ भने बाँकी दिन अन्य एजेन्डाहरूमा छलफल हुने बताइएको छ । पहिचानवादी शक्तिहरूको बिचमा एकता र सहकार्यको विषयमा केन्द्रीय समितिको बैठकमा पनि बताइएको छ । त्यस्तै, फागुन १६ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने त्यसको तयारीको बारेमा पनि पार्टीको बैठकमा छलफल हुने नेता मेहताले बताए ।

प्रकाशित मिति: Jan 9, 2025

प्रतिक्रिया दिनुहोस्