Logo
२६ पुस २०८१, शुक्रबार
(January 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने, शुल्क लिन नपाउने

काठमाडौँ । आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । उक्त बाध्यताको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गरिएको बताएकी हुन् ।

त्यो पनि निःशुल्क रूपमा भर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र बनाउँदा समेत शुल्क लिने गरेको छ । त्यस्तै विद्यार्थीको रजिष्टेशनको नाममा समेत कक्षा ९ र ११ मा समेत शुल्क लिने गरेको छ । त्यति मात्र नभई त्यही शुल्कबाट नेपाल सरकारले समेत राजश्व उठाउने गरेको छ ।

‘विद्यार्थीसँग रजिस्ट्रेसन शुल्क बापत कक्षा ९ मा शुल्क लिने, त्यो राजश्वको रूपमा जाने गरेको कुरा थाहा पाएपछि रोक्नुपर्छ भनेर म लागे,’ मन्त्री भट्टराईले भनिन्, ‘अहिले ९ कक्षामा रजिस्ट्रेसन शुल्क लिन नपाइने, राजश्वमा पनि नजाने गरी अर्थ मन्त्रालयसँग समेत कुरा भएको छ । त्यतिमात्र नभई प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेन्डा लगेर पारित गरेका थियौँ ।’

यो निर्णय आगामी वर्षको बजेटबाट कार्यान्वयनमा आउने उनको भनाइ छ । निःशुल्क तथा अनिवार्य शिक्षाको सुरुवात यहिबाट भएको समेत बताइन् । त्यस्तै फाराम भर्ने नाममा विलम्ब शुल्क समेत लिने गरेको छ । मन्त्री भट्टराईले त्यो विलम्ब शुल्क समेत हटाइएको बताइन । शुल्कका नाममा विद्यार्थीहरूबाट विलम्ब शुल्क लिन नपाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

त्यस्तै शैक्षिक प्रमाणपत्रको नाममा, त्रुटिहरू सच्याउने नाममा समेत शुल्क लिने गरेको छ । त्यसमा लाग्ने शुल्क समेत हटाउने विषयमा आफूले छलफल अगाडि बढाउने मन्त्री भट्टराईले बताइन् ।

प्रकाशित मिति: Jan 9, 2025

प्रतिक्रिया दिनुहोस्