Logo
२३ पुस २०८१, मंगलबार
(January 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक भयो ताजा रगत खोज्ने सहयोगी एप्स ‘ब्लड फर मी’

आपत्कालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ।

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज यहाँ बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गरेका हुन्।

मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपत्कालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, “हाम्रा सबै धर्मको मर्म मानवीय सेवा नै भएकाले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा सम्मानका साथ प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ। सबै संस्थाले एकीकृत ढंगले क्रियाशील भएर बिरामीलाई निःशुल्क रगत दिने व्यवस्थाअनुसार क्रियाशील हुन ध्यानाकर्षण गराउन चाहन्छु।”

उनले सरकारी सेवालाई ‘डिजिटलाइज’ गर्ने क्रममा नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर प्रदेश सरकार अगाडि बढिरहेको बताए।

विज्ञान र प्रविधिको युगमा ‘टेलिमेडिसिन’को माध्यमबाट उपचार गर्ने प्रविधिको विकास र विस्तार गरी जनतालाई राम्रो र प्रभावकारी सेवा दिन सरकार प्रयासरत रहेको मन्त्री महर्जनको भनाइ थियो।

नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए।

प्रकाशित मिति: Jan 3, 2025

प्रतिक्रिया दिनुहोस्