प्रचण्डको नयाँ भाषण : ‘मदन भण्डारीको सपना अब म पूरा गर्छु’
चितवन : केहि दिन अघि गिरिजाप्रसादको सपना पुरा गर्ने बताएका एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मगंलवार मदन भण्डारीको सपना पूरा गर्छु भन्दै नयाँ बयान दिएका छन् । स्वर्गीय मदन भण्डरीको शव प्राप्त भएको स्थान चितवनको गाजिपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले जननेता मदन भण्डारीको स्मरण गर्दै मदनको सपना साकार हुने दिन आइसकेको बताए ।
उनले मदन भण्डारीको सपना पूरा गर्ने अभिभरा आफूमाथि नै रहेको भन्दै उनले भने उनको सबै सपना अब मैले पुरा गर्नेछु । एमालेका तत्कालीन महासचिव भण्डारीको २०५० सालमा चितवनको दाशढुंगामा रहस्यमय तरिकाले जिप दुर्घटना भएपछि गाजिपुरमा उनको शव फेला परेको थियो । घटनाको २४ वर्षपछि प्रचण्ड चुनावी अभियान लिएर यस क्षेत्रमा पुगेका हुन् ।
चुनावी सभा, घरदैलो तथा मतदाता भेटघाटका क्रममा गाजीपुरमा रहेको मदन स्मृति पार्कमा पुगेका प्रचण्डले मदन भण्डारीसँग उही बेलामा पार्टी एकता प्रयास भएको बताउँदै अब देशमा एउटै कम्युनिष्ट पार्टी बनाएर देश विकासगरी उनको सपना पूरा गर्ने दावी गरे ।
राजनीतिक लडाइ पूरा भएको बताउँदै उनले अबको बाटो तीब्र विकाससंगै समृद्धिमार्फत राष्ट्रिय पुजीको वृद्धी गर्नुपर्ने समय आएको बताए । यसका लागि ५ वर्षे स्थिर सरकार अनिवार्य भएको बताउँदै त्यसका लागि वाम गठबन्धनका सम्पूर्ण उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले वाम गठबन्धनको मुख्य उद्देश्य देशको तिब्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै चितवनको विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।