संविधान संशोधनका लागि कांग्रेस-एमालेले बेग्लाबेग्लै कार्यदल बनाउने
काठमाडौँ, ९ पुस । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि कांग्रेस–एमालेले बेग्लाबेग्लै कार्यदल बनाउने बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न केही दिनमा नै बेग्लाबेग्लै कार्यदल बनाउने तयारी भइरहेको बताएका हुन् ।
संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले भनाइ छ । गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए ।
समावेशितालाई कमजोर बनाउन नभएर थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको समेत उनले दाबी गरे । ‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौं। त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौं । विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ,’– गृहमन्त्री लेखकले भने ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सात बुँदे सहमतिपछि वर्तमान सरकार बनेको थियो । वर्तमान सरकारको मूल एजेण्डा नै संविधान संशोधन रहेको छ । तर, सरकार बनेको ५ महिना बितिसक्दा पनि संविधान संशोधनको कुनै पनि काम हुन सकेको छैन ।