चुरियामाई सुरुङमार्ग आजबाट हेटौंडा उपमहानगरलाई जिम्मा
८ पुस, हेटौंडा । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए ।
सुरुङको पुनर्निर्माण सम्पन्न एक वर्षअघि नै भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन । ‘हामीले एक वर्ष अगाडि नै पुनर्निर्माण गरिसकेका थियौं । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो,’ पोख्रेलले भने ।
निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सरकारले गर्ने छ । कर संकलन उपमहानगरले गर्ने छ ।
अवलोकन गर्न कति लाग्छ शुल्क ?
उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । पाँच वर्ष मुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।
चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीय स्थलको रुपमा विकसित गर्नेगरी अगाडि बढेको उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै सञ्चालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।
हेटौंडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको पालामा ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण थालिएको थियो । २०७८ साउनमा थालिएको पुनर्निर्माण २०८० जेठमै वारपार गर्न मिल्ने बनाइएको थियो ।
१०६ वर्ष पुरानो सुरुङ पुनर्निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सुरुङको पुनर्निर्माण २०७९ वैशाखसम्म सक्ने भनिएता पनि पटक–पटक म्याद थपिएको थियो ।
राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजंग थापाले सुरुङमार्ग निर्माण गरेका थिए ।
नेपाली प्रविधि प्रयोग गरेर थापाले सुरुङमार्ग निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ हुँदै मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट भीमफेदी हुँदै काठमाडौं पुर्याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।
प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारी साधनहरु भित्रिएपछि सुरुङ छेउँबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि साँघुरो सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष बनेको थियो ।
सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारलाई सडक बिस्तारको सम्भावनाले भित्र लगेको देखिन्छ । बारातर्फको प्रवेशद्वार भने पुरानै अवस्थाको हुने जनाइएको छ ।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरु कुँदिएका छन् ।