रवि लामिछानेको सांसद पद स्वतः निलम्बित
काठमाडौं, ७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्वतः निलम्बित भएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि) निवारण ऐन–२०६४ को दफा २७ मा रहेको व्यवस्थामा संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र निज उपर मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा लामिछानेसहित ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा मुद्दा दायर गरिसकेको छ । कसुर पुष्टि भएको खण्डमा उनको सांसद पद स्वतः गुम्नेछ ।